ट्रम्पले किन गरे कमला ह्यारिसमाथि कानुनी कारबाहीको माग

वासिङ्टन डीसी ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व उपराष्ट्रपति कमला ह्यारिसलाई कानुनी कारबाहीको माग गरेका छन् । कमला ह्यारिस र डेमोक्रेटिक पार्टीले २०२४ को राष्ट्रपति चुनावमा प्रचारका लागि प्रसिद्ध स्टारहरूलाई लाखौँ डलर दिएको आरोप ट्रम्पले लगाएका छन् । यसलाई पूर्ण रूपमा गैरकानुनी भन्दै उनले मुद्दा चलाउन माग गरेका हुन् ।

डेमोक्रेटहरूले गायिका बियोन्सेलाई प्रचारका लागि १ करोड १० लाख डलर, टेलिभिजन होस्ट ओप्रा विन्फ्रेलाई ३० लाख डलर र नागरिक अधिकार कार्यकर्ता अल शाप्र्टनलाई ६ लाख डलर दिएको दाबी ट्रम्पले आफ्नो सामाजिक सञ्जाल साइट टुथ सोसलमा एक पोस्टमा लेखेका छन् । यी सेलिब्रेटीहरूले कुनै ठोस काम नगरेको अनि उनीहरूको समर्थन पनि वास्तविक नभएको उनको तर्क । यो सबै अभियानको लागि भुक्तानी गरिएको र यो पूर्ण रूपमा गैर कानुनी भएकोमा उनले जोड दिएका छन् ।

‘राजनीतिज्ञहरूले समर्थन किन्न थाले भने के हुन्छ कल्पना गर्नुहोस् ? अराजकता फैलिनेछ । कमला र अनि जसले भुक्तान गरे वा पैसा लिएका छन्, सबैले कानुन तोडेका छन् र उनीहरूलाई सजाय दिनुपर्छ’ पोस्टमा अझ अगाडि ट्रम्पले लेखेका छन् । यी भुक्तानीहरू अभियान खर्चमा पनि राम्ररी रेकर्ड नगरिएको र रेकर्डहरूसँग छेडछाड गरिएको आरोप समेत ट्रम्पले लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *