काठमाडौं । चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता साउन १७ गते काठमाडौंमा हुने भएको छ। तार्केश्वर नगरपालिकाको सहयोग र नेपाल पौडी संघको विशेष सहकार्यमा टुसाल मल्टिभेन्युले आयोजना गर्न लागेको यो प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहनेछ।
टुसाल मल्टिभेन्युका प्रवन्ध निर्देशक लक्ष्मण केसीका अनुसार, प्रतियोगितामा करिब १५० विद्यार्थीले सहभागिता जनाउनेछन्। यसअघिका संस्करणहरूमा कक्षाका आधारमा प्रतिस्पर्धा गराइएकामा यसपटक भने उमेर समूहको आधारमा प्रतिस्पर्धा गरिनेछ।
अपरेसन प्रवन्धक विशाल खड्काका अनुसार प्रतियोगिता टिम ट्रफी अंक प्रणालीमा आधारित हुनेछ। प्रतियोगितामा कुल २९ इभेन्ट्स हुनेछन्।
८ वर्ष र सो उमेर समूहका लागि ४ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ, जसमा फ्रिस्टाइल र ब्रेकस्टोक २५–२५ मिटर दूरीमा ब्वाइज र गर्ल्स दुवैले प्रतिस्पर्धा गर्नेछन्।
९–१० वर्षको उमेर समूहका लागि ६ इभेन्ट्स रहनेछन्, जसमा फ्रिस्टाइल, ब्रेकस्टोक र ब्याकस्टोक विधामा २५/२५ मिटरको दूरीमा प्रतिस्पर्धा गरिनेछ।
त्यसैगरी, ११–१२ र १३–१५ उमेर समूहमा ब्वाइज र गर्ल्स दुवैका लागि गरी १८ इभेन्ट्स हुनेछन्। फ्रिस्टाइल, ब्रेकस्टोक, ब्याकस्टोक, बटरफ्लाइ, र इन्डिभिजुअल मेडले विधामा प्रतिस्पर्धा गरिनेछ।
त्यस अतिरिक्त, मिक्स्ड फ्रिस्टाइल रिले (२ ब्वाइज र २ गर्ल्स) तथा फ्रिस्टाइल ४×२५ मिटर इभेन्ट्स पनि प्रतियोगितामा समावेश गरिनेछ।
प्रतियोगितामार्फत विद्यार्थीको शारीरिक तन्दुरुस्ती, आत्मविश्वास र खेलकुदमा सहभागिता अभिवृद्धि हुने आयोजकको अपेक्षा छ।