बलुचिस्तान लिबरेशन आर्मीलाई अमेरिकाले गर्यो आतङ्कवादी सङ्गठन घोषित

वासिङटन डीसी । अमेरिकाले बलूच लिबरेशन आर्मी (बीएलए) र योसँग सम्बद्ध सङ्गठन मजिद ब्रिगेडलाई विदेशी आतङ्कवादी सङ्गठन (एफटीओ) घोषित गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार राति अबेर यो जानकारी दिएका हुन् ।

‘बीएलएले २०२४ मा कराँची विमानस्थल नजिकै र ग्वादर बन्दरगाह प्राधिकरण कम्प्लेक्समा आत्मघाती हमलाको जिम्मेवारी लिएको थियो । यसले मार्च २०२५ मा जाफर एक्सप्रेस रेल अपहरणको पनि जिम्मेवारी लिएको थियो, जसमा ३१ नागरिक र सुरक्षाकर्मी मारिएका थिए । ३०० भन्दा बढी यात्रुहरूलाई बन्धक बनाएको थियो ।’ रुबियोल एउटा विज्ञप्तिमा भनेका छन् ।

‘आज अमेरिकाको विदेश मन्त्रालयले गरेको कारबाहीले आतंकवादसँग लड्ने ट्रम्प प्रशासनको प्रतिबद्धतालाई देखाउँछ । आतङ्कवादी सङ्गठन घोषणा गर्नुले आतंकवाद विरुद्धको हाम्रो लडाइँमा अहम् भूमिका खेल्छ । आतङ्कवादी गतिविधिहरूका लागि समर्थन रोक्ने यो प्रभावकारी तरिका हो ।’ विज्ञप्तिमा भनिएको छ ।

पाकिस्तानी सेना प्रमुख असिम मुनीर अमेरिका भ्रमणमा रहेको बेला अमेरिकाले यो घोषणा गरेको हो । पाकिस्तानी पत्रिका डनको रपोर्ट अनुसार, मुनीर फेरि एक पटक अमेरिका पुगेका छन् । डेढ महिनामा मुनिरको यो दोस्रो अमेरिका भ्रमण हो । बलुच लिबरेशन आर्मी पाकिस्तानको बलुचिस्तान प्रान्तको स्वतन्त्रताको लागि लडिरहेको सङ्गठन हो । यो २००० को दशकको सुरुमा स्थापना भएको थियो । यस अघि नै कयौँ देशहरूले यसलाई आतङ्कवादी सङ्गठन घोषित गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *