निजी विद्यालयले पूर्ण छात्रवृत्ति दिने विषय नियमावलीमा राखौँ : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी विद्यालयले पूर्ण छात्रवृत्ति दिने विषय नियमावलीमा राख्ने प्रस्ताव गरेका छन् । सोमबारको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा मन्त्री पन्तले निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिने विषय नियमावलीमा समावेश गरेर जाने सहमति गरेर जान प्रस्ताव गरेका हुन् ।

यो विषयमा आइतबार विवादित विषयमा छलफल गर्न समन्वय परामर्श उपसमितिको बैठक बसे पनि सहमति जुटाउन सकेको थिएन ।निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिन नसकिने भनिरहेका छन् । समितिका सदस्यहरूले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक पनि हुनुपर्ने बताइरहेका छन् ।

गत २२ साउनमा बसेको बैठकमा यसबाट आवास र पोशाक झिक्नुपर्ने प्रस्ताव राखिएको थियो । तर सदस्यहरूले नमानेपछि प्रस्ताव पारित हुन सकेको थिएन । यही विषयलाई लिएर निजी विद्यालय सञ्चालकहरूले चरणबद्ध आन्दोलन गरिरहेका छन् । विधेयकमा शिक्षक महासङ्घले पनि असन्तुष्टि जनाएको छ । महासङ्घले पनि भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *