काठमाडौँ । कोशी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार ललितपुरको हरिसिद्धिमा राना सवार गाडीको ठक्करबाट ११ वर्षीया बालिका घाइते भएकी थिइन् । दुर्घटनापछि सो गाडीका चालक चन्द्रनारायण चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले बताए । उनले भने– ‘चालकलाई नियन्त्रणमा लिएर प्रहरी प्रभाग बाँडे गाउँमा राखिएको छ ।’
ललितपुरको गोदावरीमा नेकपा (एमाले) को विधान महाधिवेशनमा सहभागी हुन जाँदै गरेका रानाको गाडीले बालिकालाई ठक्कर दिएको थियो । बीएण्डबीमा उपचार पछि बालिकालाई अस्पतालले डिस्चार्ज गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले रातोपाटीलाई बाए । उनले भने– ‘घटना अनुसन्धानको क्रममा छ ।’
बालिकाको उपचार खर्च सवारी चालक पक्षले गरेका छन् । घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी घिमिरे र एसएसपी श्यामकृष्ण अधिकारीले घटनास्थल निरीक्षण गरेका छन् । यात्रुले जेब्रा क्रसिङ्गपछि टर्न गरेर बाटो काट्न खोज्दा गाडी पास हुने बेला उनलाई ठक्कर दिएको देखिएको प्रजिअ घिमिरेले बताए ।
दुर्घटना भएपछि मन्त्री सवार गाडी नरोकी सरासर हिँडेको थियो । हरिसिद्धिका स्थानीयले आक्रोशित भएर सडक अवरुद्ध गरेपछि नेकपा (एमाले)को विधान महाधिवेशन ढिला सुरु भएको थियो । विधान महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो दुर्घटनालाई ‘सामान्य दुर्घटना’ भनेर टिप्पणी गरेका थिए ।