काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको घरमा तोडफोड भएको छ । ‘जेनजी’ प्रदर्शनकारीको एक समूहले तिलोत्तमा नगरपालिका–४ मणिग्रामस्थित खाँणको घरमा तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले घरमा तोडफोडको जानकारी आएको बताए । स्थिति नियन्त्रणमा लिन रुपन्देही जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार बुटवलदेखि भैरहवा क्षेत्रसम्म कर्फ्यु लागू गरिएको हो। बुटवल क्षेत्रमा धागो कारखाना पुलदेखि बेलबास चोकसम्म, उत्तरमा चिडिया खोलासम्म र दक्षिणमा मंगलापुरसम्म कर्फ्यु आदेश जारी गरिएको छ। यस्तै भैरहवामा रोहिणी खोलादेखि बेथरीसम्म, उत्तरमा बुद्धचोकदेखि दक्षिणमा मेउडीहवासम्म कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ।