आगजनीबाट एनआरएनएको भवनमा क्षति, दुई वटा गाडी पनि जले

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) को भवनमा क्षति पुगेको छ । मंगलबारको आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले संघमा आगजनी गरेका हुन् । आगजनीबाट संघको दुई वटा गाडी जलेर ध्वस्त भएको छ । यस्तै भवनको पहिलो र दोस्रो तलमा सामान्य क्षति भएको छ । संघको भवनको पहिलो र दोस्रो तलामा नेपाल राष्ट्र बैंकको राष्ट्र बैंकको वित्तीय शाखा रहेको छ । जुन शाखाको एक भाग जलेको छ भने कार्यालय प्रवेश गर्दाको दायाँपट्टीको भागतर्फ भने कुनै क्षति भएको छैन ।

यस्तै तेस्रो तलामा रहेको संघको सचिवालयमा भने कुनै क्षति भएको छैन । संघकी वरिष्ठ सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरेले मंगलबार साँझपख भएको आगजनीबाट संघको भवनको एउटा भागमा क्षति पुगेको बताइन् । तर, संघको सचिवालय रहेको तला भने सुरक्षित रहेको उनले पुष्टि गरिन् । ‘राष्ट्र बैंकको कार्यालय रहेको दुई तलाको एक भागमा क्षति पुगेको छ । झ्यालसहितका सिसा र कतिपय कागजात जलेको छ’, उनले बिहीबार भनिन्, ‘क्षतिको विवरण आइसकेको छैन । तर, करोडौँको क्षति भएको प्रारम्भिक अनुमान गर्न सकिन्छ ।’

उनका अनुसार संघका अध्यक्ष बद्री केसीले चढ्दै आएका निशानको गाडी र  आईटी डिपार्टेमेन्टका असिस्टेन्ट डाइरेक्टर महेश श्रेष्ठको अर्को गाडी जलेर ध्वस्त भएको छ । राष्ट्र बैंकमा राखिएका साफोसहितका सामग्री समेत एनआरएनएकै भएको बताइएको छ । राष्ट्र बैंकका सुरक्षा गार्डहरूका अनुसार नजिकै रहेको भाटभटेनी जलाएपछि एक समूहले एनआरएनएको कार्यालयमा पनि आगजनी थालेका थिए ।

स्मरणीय छ, एनआरएनएको कार्यालय रहेको भवन भने विवादित छ । विशेष अदालतले संघको कार्यालय रहेको ४८ आना जग्गासहितको भवन जफत हुने फैसला सुनाएको थियो । बहुचर्चित ललिता निवासको जग्गा एनआरएनएले पूर्वअध्यक्ष शेष घलेको पालनामा खरिद गरेको थियो । तर, सोही जग्गा ललितानिवासको भएको विशेष अदालतबाट फैसला आउनुअघि नै एनआरएनएले करोडौँ खर्चेर भवन बनाएको थियो ।

जग्गा खरिद र भवन निर्माणमा एनआरएनएको ५० करोड भन्दा बढी खर्च भएको छ । विशेषको फैसलापछि काठमाडौँ महानगरपालिकाले भवन खाली गराउन खोजेका एनआरएनए त्यसविरुद्ध फेरि अदालत गएको थियो । जसअनुसार उच्च अदालत पाटनबाट तत्काल भवन खाली नगराउन अन्तरिम  आदेश ल्याएको एनआरएनए हालसम्म त्यही भवनबाट काम गर्दै आएको छ । उसो त दुई समूह रहेको एनआरएनएभित्र भवनबारे पनि विवाद रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *