सरकारको सय दिन पुगेपछि संसद्‍मा कांग्रेस अझ सशक्त हुने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका कमजोरीका बारेमा पार्टीले संसद्मा निरन्तर आवाज उठाउँदै आएको बताएका छन्। पार्टीका पदाधिकारीसहित शनिबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारले गरेका गलत निर्णयविरुद्ध पार्टीले नीतिगत र सक्रिय रूपमा कुरा उठाइरहेको स्पष्ट पारेका हुन् ।

‘सरकारका बारेमा कुनै कुरा उठाउन बाँकी राखेको छैन, सरकारले नै कान थुनेर बसेको छ भने त्यसमा केही गर्न सकिँदैन तर हामीले प्रतिपक्षीको रूपमा कुरा उठाइरहनेछौँ,’ महामन्त्री पौडेलले भने। पार्टीमा सांसदहरूलाई विषयगत मन्त्रालयको जिम्मेवारी दिएर अध्ययन भइरहेको र समय आएपछि मन्त्रालयगत रूपमा कुराहरू बाहिर ल्याउने उनले जानकारी दिए।

सरकारले सय दिनमा सय काम गर्ने दाबी गरे पनि कतिपय विषयमा छलफलसम्म नभएको उनको भनाइ थियो। उनले अगाडि भने, ‘यो सरकारले सय दिनमा १० वटा काम मात्र राखेको भए राम्रो हुन्थ्यो, तर सय काम राखेर आफैँ अलमलमा परेको जस्तो देखिन्छ।’

कांग्रेस पुरानो पार्टी भएकाले व्यक्तिको व्यवस्थापन पेचिलो बन्दै गएको स्वीकार गर्दै उनले यसलाई विधिवत् रूपमा हल गर्ने प्रयास भइरहेको बताए। कांग्रेस एकीकृत रहेको र केही व्यक्तिगत असन्तुष्टिलाई १५औँ महाधिवेशनमार्फत समाधान गरिने भन्दै यस विषयमा नेताहरूबिच छलफल चलिरहेको उनले उल्लेख गरे।

बैठकपछि कांग्रेस नेता एवं सांसद अभिषेक प्रताप शाहले संसद्मा उठेका र आगामी दिनमा उठाइने विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए। जनताका सरोकारका विषय आफूहरूले पटक–पटक संसद्मा उठाइरहेको बताउँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् कसरी चलाइरहेको छ भन्ने कुरा सबैलाई थाहा भएको टिप्पणी गरे।

सरकारको सय दिन पूरा भएपछि कांग्रेस पार्टी संसद्मा थप सशक्त रूपमा प्रस्तुत हुने उनले बताए। वर्तमान सरकार सामाजिक सञ्जालमा मात्र केन्द्रित भएको र जनतामा सस्तो लोकप्रियता कमाउन खोजेको आरोप लगाउँदै सांसद शाहले यसबाट जनताले कुनै राहत नपाएको दाबी गरे। बजेटले समेत जनतामाथि करमाथि कर थपेको भन्दै उनले सरकारको आलोचना गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *