सरकारको हस्तक्षेपले मात्रै एन्फा निलम्बनमा परेको होइन : प्रवक्ता पोखरेल

काठमाडौं : सरकारले फिफाले एन्फालाई निलम्बन गरेको विषय अहिलेको सरकारले हस्तक्षेप गरेकाले मात्र नभएको बताएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो बताएका हुन् ।

यसअिघका सरकारले विभिन्न समयमा विभिन्न चरणका हस्तक्षेप भएका कारण यो अवस्था आएको उनको दाबी छ । नेपाली फुटबल अब यो भन्दा तल जाने ठाउँ नरहेको भन्दै खेलकुदलाई वर्तमान सरकारले माथि उठाउने उनको जिकिर छ ।

उनले अहिले एन्फासम्बन्धी धेरै भ्रष्टाचारका उजुरीहरू धेरै परेको र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षको अध्यक्षतामा छानबिन समिति गठन गरेको स्पष्ट पारे । एन्फाका पदाधिकारीहरू विश्वकपमा नेपालको फुटबलले केही न केही उपलब्धि हासिल गरेपछि मात्रै जान पाउने उनले बताए । फिफा र एएफसीका पदाधिकारीहरूलाई वार्ताका लागि बोलाइसकेको बताउँदै उनीहरू आएपछि विस्तृत छलफल गरिने उनले बताए ।

नेपालको फुटबललाई जसरी भएपनि माथि उठाउने अठोट अहिलेको सरकारको रहेको र अब बन्ने एन्फामा राजनीतिक आधारमा नभइ नेपालको फुटबलमा योगदान दिएका पूर्वखेलाडीहरू तथा फुटबललाई माया गर्ने र खेललाई राम्रोसँग बुझ्ने व्यक्तिहरूलाई नेतृत्वमा ल्याउने योजना रहेको उनले सुनाए ।

उनले भने, ‘अहिलेसम्म हेर्दा सरकारबाट एन्फामा विगतमा धेरै पटक हस्तक्षेप भएको थियो । त्यसमा अहिले एन्फासम्बन्धी धेरै भ्रष्टाचारका उजुरीहरू पनि हामीलाई परेका छन् । धेरै उजुरी परेकाले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षको अध्यक्षतामा छानबिन समिति गठन गरेका छौँ । विभिन्न उजुरी परेकाले हामीले त्यसलाई अत्यन्त संवेदनशील रूपमा लिएका छौँ । उहाँहरूले छानबिनको प्रतिवेदन बुझाउनेबित्तिकै आवश्यकताअनुसार सम्बन्धित निकायमा पठाउने काम पनि गर्छौँ ।’

उनले अगाडि भने, ‘फिफाले एन्फालाई निलम्बन गरेको विषय अहिलेको सरकारले हस्तक्षेप गरेकाले मात्र भएको होइन । विभिन्न समयमा विभिन्न तहबाट सरकारका तर्फबाट हस्तक्षेप हुँदै आएको थियो । यस पटक पनि उहाँहरूले विश्वकप हेर्न जानबाट रोकियो भनेर गुनासो गरिरहनुभएको छ । एन्फाका पदाधिकारीहरू विश्वकपमा त्यतिखेर जानुहुन्छ, जतिखेर नेपालको फुटबलले केही न केही उपलब्धि हासिल गरेको हुन्छ ।’

फिफाले एन्फालाई निलम्बन गर्दा हामी सबैलाई दुःख लाग्नु स्वभाविक भएको उनको भनाइ छ । उनले भने, ‘एन्फालाई राजनीतिक भर्ती केन्द्र बन्न दिँदैनौँ । यसलाई भ्रष्टाचारको अखडा बन्न पनि दिँदैनौँ । हामी जे गर्छौँ, फुटबलप्रेमीहरूलाई अगाडि राखेर गर्छौँ, र एन्फालाई सही दिशामा अघि बढाउँछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *