फ्रुटीमा नशालु पदार्थ मिसाएर लुटपाट गर्ने महिला पक्राउ

काठमाडौँ। खाजामा नशालु पदार्थ मिसाएर गहना, नगद तथा मोबाइल लुटपाट गरी फरार भएकी एक महिलालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।

गत साउन १२ गते साँझ करिब साढे ५ बजे काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ अत्तरखेलस्थित जग्गा हेर्ने भन्दै बोलाएर एक होटलमा खाजा खाने क्रममा लुटपाट भएको थियो।

पीडितलाई फ्रुटीमा नशालु पदार्थ मिसाएर खुवाई बेहोस बनाइएको थियो। बेहोस बनाएपछि निजको साथमा रहेको सुनको औँठी, नगद र मोबाइलहरू लुटेर अभियुक्त फरार भएकी थिइन्। 

उक्त घटनाको अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय बनेपाको समन्वयमा खटिएको प्रहरी टोलीले साउन ७ गते काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नम्बर ५ चौकोटबाट अभियुक्तलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ९ घर भई हाल काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नम्बर ५ बस्ने ४७ वर्षीया सङ्गीता तामाङ कार्की रहेकी छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बौद्ध, काठमाडौँ पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *