काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । केही भूभागमा भने भारी वर्षाको पूर्वानुमान छ ।
दिउँसो कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
पहाडी भूभागका धेरै स्थानमा, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, कोसी प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोसी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ ।
विभागले राति देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । कोसी र सुदूरपश्चिम प्रदेशको तराईमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोसी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थान, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।
देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको विभागको भनाइ छ ।
