काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ) ले नेपालको कानुनी व्यवस्था र त्यसको कार्यान्वयन गर्ने संयन्त्रको लाचारीप्रति प्रहार गरेका छन् । सोमबारको प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले अपराधीहरूले कानुनलाई गोजीमा बोकेर हिँड्ने गरेको टिप्पणी गरे ।
उनले देशको अवस्थालाई बिग्रिएको गाडी र अदक्ष चालकसँग तुलना गर्दै प्रश्न गरे, ‘हाम्रो देशको कानुन कमजोर कि कानुन चलाउने मान्छे ? गाडी बिग्रेको हो कि गाडी चलाउने मान्छेले चलाउन नजानेको ?’
सांसद राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तले नै स्विस बैंकमा नेपाली भ्रष्ट नेताहरूको ठुलो रकम रहेको अभिव्यक्ति दिएको स्मरण गराउँदै सरकारको आलोचना गरे । ‘हामी स्विस बैंकमा रहेको भ्रष्टाचारको पैसा फिर्ता ल्याउन सक्दैनौँ,’ उनले भने, ‘यस्तो निरीहताले सुशासनको गफ व्यर्थ साबित भएको छ ।’
उनले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको मृत्यु हुँदा शवसमेत ल्याउन नसक्ने अवस्था रहेको भन्दै आक्रोश पोखे । ‘विदेशमा नेपाली नागरिकको मृत्यु हुन्छ, तर उनीहरूको शवसम्म नेपाल ल्याउन सक्दैनौँ । यस्तो लाचार भएर बाँच्नुपरेको छ,’ राईले भने ।
सांसद राईले नाबालिकाहरूको बलात्कार र हत्याका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै अपराधीहरू कानुनसँग नडराएको बताए । ‘अपराधीहरू कानुनलाई गोजीमा बोकेर हिँडिरहेका छन्,’ उनले भने, ‘बलात्कारी पुष्टि भएको हकमा निर्मम रूपमा सजाय गर्नुपर्छ । कानुनसँग मान्छेको डर हुनुपर्छ, तब मात्र यस्ता जघन्य अपराध रोकिन्छन् ।’
