संकटका बेला सरकारलाई साथ दिनुपर्छ : गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् र संकटका बेला सबै राजनीतिक दल एकजुट भएर सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् ।

सानेपामा सुरु भएको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सम्बोधन गर्ने क्रममा उनले विपद्को समयमा सरकारलाई सहयोग गर्नु कांग्रेसको परम्परा र स्वभाव नै रहेको बताए ।

‘संकटको बेलामा नेपाली कांग्रेसको परम्परा रहँदै आएको छ । हाम्रो स्वभाव पनि यही हो । यो बेलामा राष्ट्रिय राजनीतिको जुनसुकै भूमिकामा भएको भएता पनि हामी सबै राजनीतिक दलहरू एकजुट हुनुपर्छ,’ सभापति थापाले भने ।

उनले विपद्को सामना गर्न सरकारले अघि बढाउने सबै काममा राजनीतिक दलहरूले सहयोग गर्नुपर्ने पनि बताए । ‘सरकारलाई यो बेला सबैले मद्दत गर्नुपर्छ भन्ने कुरा ठान्छौं,’ थापाले भने ।

सभापति थापाले घटना भएलगत्तै कांग्रेसले सरकारसँग समन्वय गरेर उद्धार तथा राहतका काममा पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको पनि बताए ।

‘घटना हुनासाथै तत्कालै पार्टीको तर्फबाट दलका नेता भीष्मराज आङ्देम्बे र प्रभावित क्षेत्रका सांसद मोहन आचार्यलगायतका साथीहरू सरकारले बोलाएको बैठकमा उपस्थित भएर पार्टीको तर्फबाट सरकारले गर्ने सम्पूर्ण काममा साथ र सहयोग रहन्छ भन्ने पार्टीको पोजिसन राखिसक्नुभएको छ,’ उनले भने ।

सभापति थापाले संकटको घडीमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर नागरिकको उद्धार र राहतलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले बाढी प्रभावितको उद्धार र राहतका लागि खटिनु पर्ने भएकाले सानेपामा पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरिएको पनि बताए ।

‘आज हाम्रो ४ बजे प्रतिष्ठानको कार्यक्रम थियो । त्यो कार्यक्रम हामीले स्थगित गरेका छौं,’ उनले भने, ‘भोलि यहाँ महिला उद्यमीहरूको ठूलो सम्मेलन थियो । त्यो कार्यक्रम पनि हामीले स्थगित गरेका छौं ।’

सभापति थापाले राहत–उद्धारमा केन्द्रित हुन केही दिनका लागि केन्द्रीय कार्यालय सानेपामा हुने भनिएका कार्यक्रमहरू स्थगित गरिएको पनि बताए । ‘अबको केही दिन पार्टी केन्द्रीय कार्यालयमा हुने सबै कार्यक्रमहरूलाई रोकेर सबै ध्यान हामीले राहत उद्धारमा दिनुपर्ने छ,’ उनले भन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *