काठमाडौँ । सरकारले सहसचिव इन्दु घिमिरेलाई सचिवमा बढुवा गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा गर्दै रक्षा मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो ।
बढुवा सिफारिस समितिले घिमिरेलाई पहिलो नम्बरमा सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्ले उनलाई सचिवमा नियुक्त गरेको हो । सचिवमा बढुवा हुनुअघि घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सहसचिवको रूपमा कार्यरत थिइन् ।
यसअघि रक्षा मन्त्रालयमा रहेका सचिव केदारनाथ शर्मालाई गृह मन्त्रालयमा सरुवा गरिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी घिमिरेले पाएकी हुन् ।
