काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले पोखरास्थित विद्यालय तथा नर्सिङ क्याम्पसका खाद्य व्यवसायको अनुगमन गरेको छ। अनुगमनका क्रममा केही स्थानमा सरसफाइ सन्तोषजनक पाइए पनि फोहोर व्यवस्थापन, भान्साको सरसफाइ तथा खाद्य पदार्थ भण्डारणमा कमजोरी भेटिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक गरेको निरीक्षण अनुगमनसम्बन्धी विवरणअनुसार भदौ १० गते खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार पोखराका चार खाद्य व्यवसायमा निरीक्षण गरिएको हो।
पोखरा–१० स्थित अमरसिंह माध्यमिक विद्यालय अन्तर्गत सञ्चालित सर्वगुण फुड्स एन्ड किचन, बुढीबजारको सरसफाइको अवस्था सन्तोषजनक पाइएको विभागले जनाएको छ। उक्त व्यवसायलाई खाद्य स्वच्छतासम्बन्धी नियमहरू निरन्तर पालना गर्न निर्देशन दिइएको छ।
यस्तै, नोबेल सेकेन्डरी स्कुल, पोखरा–११मा ढकनीयुक्त फोहोरदानी प्रयोग नगरिएको र फ्रिजको सरसफाइ सन्तोषजनक नरहेको पाइएको छ। अनुगमन टोलीले अनिवार्य रूपमा ढकनीयुक्त फोहोरदानी प्रयोग गर्न, आवश्यक सरसफाइ गर्न तथा खाद्य स्वच्छताका नियम पालना गर्न निर्देशन दिएको छ। साथै, त्यहाँ भेटिएको करिब १० केजी किरा लागेको मैदा नष्ट गरिएको विभागले जनाएको छ।
पोखरा–१२ स्थित पोखरा नर्सिङ क्याम्पस अन्तर्गत सञ्चालित वर्षा एन्ड बचन रेस्टुरेन्टमा झ्याल तथा ढोका खुला रहेको र भान्सा परिसरको सरसफाइ सन्तोषजनक नभएको भेटिएको छ। व्यवसायलाई खुला झ्याल तथा ढोकामा तत्काल जाली राख्न, फ्रिजमा खानेकुरा छोपेर मात्र भण्डारण गर्न तथा वर्किङ टेबल तत्काल परिवर्तन गर्न निर्देशन दिइएको छ।
त्यसैगरी, पोखरा नर्सिङ क्याम्पसको होस्टेल मेसमा ढकनी नभएको खुला फोहोरदानी प्रयोगमा रहेको पाइएको छ। अनुगमन टोलीले ढकनीयुक्त फोहोरदानीको अनिवार्य प्रयोग गर्न, फ्रिजमा खानेकुरा छोपेर मात्र राख्न तथा सरसफाइलाई निरन्तरता दिन निर्देशन दिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले जारी गरेको विवरणअनुसार अनुगमन टोलीले कुल चार वटा खाद्य व्यवसायको निरीक्षण गरेको हो। विभागले सबै खाद्य व्यवसायलाई खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी प्रचलित नियमहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ।
