बल्थली बैठकले भ्रम र हल्ला चिर्दै, पार्टीको समग्र कार्यशैलीमा गम्भीर समिक्षा गर्‍यो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) भित्र अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने विषयमा चलेका चर्चालाई निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका सचिव महेश बस्नेतले अस्वीकार गरेका छन्। काभ्रेको बल्थलीमा सम्पन्न कार्यदलको बैठकले त्यस्तो कुनै निर्णय नगरेको उनले बताएका हुन्।

दुई दिनसम्म चलेको छलफलले नेतृत्व परिवर्तनभन्दा पार्टीको संगठनात्मक अवस्था सुधार, कार्यशैलीमा परिवर्तन र संरचनालाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेको बस्नेतले बताएका छन्।

‘बैठकले पार्टी अध्यक्ष परिवर्तन गर्ने विषयमा फिजाइएको भ्रम र हल्ला चिर्दै, पार्टीको समग्र कार्यशैली, संगठनात्मक अवस्था तथा संरचनामा आवश्यक पुनर्संरचना र पुनर्ताजगी ल्याउने विषयमा गम्भीर छलफल भयो,’ उनले भने।

बस्नेतका अनुसार बैठकमा सरकारका गतिविधिबारे समेत छलफल भएको थियो। उनले सरकारका अधिनायकवादी, फासिवादी तथा जनविरोधी गतिविधिको प्रतिरोध गर्दै जनतामाझ थप संगठित र प्रभावकारी रूपमा प्रस्तुत हुने विषयमा आएका सुझावमाथि कार्यदलले विचार गरेको जानकारी दिएका छन्।

कार्यदलमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै प्रस्तुत गरेका प्रस्तावलाई बैठकमा उठेका सुझाव समेटेर एउटै अन्तिम दस्तावेजका रूपमा अघि बढाउने सहमति भएको छ।

यसका लागि उपाध्यक्ष बादलको संयोजकत्वमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल रहेको तीन सदस्यीय टोलीलाई अन्तिम मस्यौदा तयार पार्ने जिम्मेवारी दिइएको बस्नेतले बताएका छन्। अब उक्त टोलीले दुवै प्रस्ताव र छलफलबाट आएका सुझावलाई एकीकृत गरी कार्यदलसमक्ष अन्तिम प्रतिवेदन प्रस्तुत गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *