काठमाडौं । युवा अभियन्ता तथा ग्लोबल यूथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल उज्यालो नेपाल पार्टीको महासचिवमा नियुक्त भएका छन् ।
अर्याललाई आइतबार बसेको पार्टीको सचिवालयको पूर्ण बैठकले महासचिव पदमा नियुक्त गरेको हो । उनलाई पार्टी अध्यक्ष कुलमान घिसिङले काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा पार्टीमा औपचारिक प्रवेश गराएका हुन् ।
उनीसँगै कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रउले, कालीप्रसाद चटौत, विष्णु पराजुली र दुर्गा अर्याल केन्द्रीय सदस्यका रूपमा पार्टी प्रवेश गरेका छन् ।
नवनियुक्त महासचिव अर्यालले पार्टी नेतृत्वमा विभिन्न विषयका विज्ञहरूसँगै अनुभवी र खारिएका युवाहरू पनि जोडिएकाले देश विकासका लागि उत्तम विकल्प भएको दाबी गरे ।
