संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको समीक्षा समाजको पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताएका छन्।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले संविधान अक्षरहरूको सँगालो मात्र नभई राज्य र नागरिकबीचको पवित्र करार भएको उल्लेख गरेका छन्। उनले संविधानले परिकल्पना गरेका मौलिक हकहरू सीमान्तकृत नागरिकको दैनिक जीवनको यथार्थ बन्नुपर्ने बताएका छन्।

लामिछानेले आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने अभिभारा अझै पूरा हुन बाँकी रहेको उल्लेख गरेका छन्। उनका अनुसार संविधान एक जीवन्त दस्तावेज भएकाले राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा यसको अन्तर्वस्तु परिष्कृत र संशोधन हुन सक्छ।

उनले संविधानमा नै रहेको व्यवस्थाले संविधानको समीक्षा मागेको भन्दै अबको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्ने धारणा राखेका छन्।

बेथिति र कमजोरी सच्याउँदै लोकतन्त्र र समावेशितालाई थप बलियो बनाउने गरी विवेकपूर्ण बहस गर्ने उपयुक्त दिन संविधान दिवस भएको लामिछानेको भनाइ छ।

‘बलियो राज्य भनेको बलिया संस्था हुन्’ भन्दै उनले संविधान दिवसले राजनीतिक शक्ति, राज्यका अङ्ग र आम नागरिकलाई आ–आफ्नो स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणको साझा एजेन्डामा एकताबद्ध हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

लामिछानेले संविधान निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका क्रममा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *