गैरकानुनी गिरफ्तार गर्न नमानेपछि कार्कीलाई महानिरीक्षकबाट हटाइयो :  महामन्त्री राणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गैरकानुनी गिरफ्तारी गर्न नमानेपछि सरकारले उनलाई पदबाट हटाएको बताएका छन् । कांग्रेस क्षेत्र नम्बर १ ललितपुरले बज्रबाराहीमा बिहीबार आयोजना गरेको सरसफाइ तथा फूल रोप्ने कार्यक्रममा महामन्त्री राणाले सरकारले गैरकानुनी रूपमा मानिसहरूलाई पक्राउ गर्न दिएको दबाब नमानेपछि कार्कीलाई हटाएको पनि बताए ।

आफूलाई मन नपरेका व्यक्ति, राजनीतिक नेता, व्यवसायी तथा कर्मचारीमाथि कानुनी प्रक्रिया मिचेर धरपकड गर्न खोजिएको र त्यसका लागि प्रहरी नेतृत्वलाई प्रयोग गर्न खोजिएको राणाको दाबी छ । सुरक्षा निकायलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न खोजिनु लोकतान्त्रिक व्यवस्था र विधिको शासनका लागि गम्भीर विषय भएको उनको भनाइ छ।

राणाले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि सरकारका गतिविधि थप विवादित बन्दै गएको दाबी गरे । पछिल्लो समय व्यवसायी, राजनीतिक दलका नेता तथा कर्मचारीमाथि व्यापक धरपकड भइरहेको आरोप लगाउँदै उनले राज्य शक्तिको दुरुपयोग रोक्नुपर्ने बताए।

सरकारले सञ्चार क्षेत्रमाथि समेत दबाब र हस्तक्षेप बढाएको राणाको आरोप छ । केही दिनअघि सञ्चारगृहमा प्रहरी पठाएर सञ्चारकर्मीलाई गिरफ्तार गरिएको घटनाको विरोध गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्ने बताए।

न्यायालयमाथि समेत सरकारले आफ्ना निकट व्यक्तिहरू प्रयोग गरेर प्रभाव पार्न खोजिरहेको आरोप राणाले लगाए। राज्यका प्रमुख अंगलाई नियन्त्रणमा लिने प्रयास लोकतन्त्रका लागि गम्भीर चुनौती हुने उनको भनाइ छ।

देशलाई सही बाटोमा फर्काउन लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारका पक्षमा रहेका सबै सचेत नागरिक एकजुट हुनुपर्ने राणाले बताए । प्रधानमन्त्रीले तानाशाही प्रवृत्ति लागू गर्न खोजेको आरोप लगाउँदै उनले त्यसको प्रतिरोधका लागि जनता सडकमा उत्रिनुपर्ने अवस्था आएको बताए।

पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण कदम चाल्न खोजेको आरोप लगाउँदै त्यसो गरिए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए ।  ‘सभापति गगनकुमार थापामाथि सरकारले कुनै पनि गलत कदम चाल्यो भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन,’ राणाले भने, ‘त्यस्तो कदमको दृढतापूर्वक प्रतिरोध गर्छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *