सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–४ जिरो ड्यामस्थित प्रशान्त शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ। गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले कात्तिक २० गते राति करिब ११:५० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।
विशेष कारबाहीका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कपिल के.सी.को कमाण्डमा ११ जना, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक श्याम प्रकाश यादवको कमाण्डमा १९ जना र कर्णाली प्रदेश प्रहरी गण सुर्खेतका प्रहरी वरिष्ठ नायब निरीक्षक नेत्र कठायतको कमाण्डमा १५ जना गरी कुल ४५ जनाको संयुक्त प्रहरी टोली खटिएको थियो।
उक्त स्थानमा खानतलासी गर्दा प्रहरीले नगद रु १ लाख ५ हजार ६ सय ७०, २८ बुक तास (२४ बुक नखुलेको र ४ बुक खुलेको) तथा ६ थान लङ्गुर बुर्जा बरामद गरेको छ। पक्राउ परेका सबै १७ जनालाई कात्तिक २१ गते बिहान २:३० बजे जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
