आज किराँत समाज सुधार दिवस

काठमाडौँ : किराँत धर्मावलम्बीले ‘सत्यधर्म मुचुल्का’ को पाठ पारायण एवं व्यवहारमा लागू गरी आज ९५ औँ किराँत समाज सुधार दिवस मनाउँदैछन् । विसं १९८८ वैशाख २४ गते पाँचथरको लोब्रे चौरमा १६ आँै राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सक्रियतामा किराँत धर्ममा सुधारका सात बुँदामा ‘सत्यधर्म मुचुल्का’ जारी गरिएको थियो । त्यही सम्झनामा प्रत्येक वर्ष वैशाख २४ गते देशभरका किराँत धर्मावलम्बीले समाज सुधार दिवस मनाउने गरेका किराँत ज्योतिष सङ्घका अध्यक्षसमेत रहनुभएका किराँत धर्मगुरु चन्द्रकुमार शेर्माले राससलाई जानकारी दिनुभयो । किराँत मन्दिरमा रक्तबलि दिएर पूजा नगर्ने, न्वारान, विवाहलगायत किराँत धर्मावलम्बीका संस्कारमा जाँडरक्सी, मासु निषेध गर्ने, किराँतको बसोबास भएको प्रत्येक गाउँमा मन्दिर स्थापना गर्ने, किराँत लिपिमा मुन्धुम पढाउने पाठशाला सञ्चालन गर्ने, छोरीको विवाह छिन्दा पैसा नलिने, किराँत समुदायमा बच्चा जन्मँदा पाँचदेखि सात दिनसम्म सूतक बार्ने, बाबुआमाको काजक्रिया १० दिनसम्म गरी ११ औँ दिनमा चोखिने गरी समाज सुधारका बुँदा सार्वजनिक गरिएको थियो ।

एक वर्षमा अरु सुधारका तीन बुँदा थपिएको शेर्माले जानकारी दिनुभयो । थपिएका बुँदामा उत्तरायण हुने माघ १ गते उँभौली, दक्षिणायत हुने साउन १ गते उँधौली पर्व मनाउने र जहाँसुकै धान नाच ननाच्ने निर्णय पनि किराँत महासभाबाट भएको थियो । विसं २०७८ को जनगणना अनुसार १० लाखभन्दा बढी किराँत समुदाय देशभर बसोबास गर्छन् । पूर्वी पहाडी जिल्लामा किराँत समुदायको बाक्लो उपस्थिति छ । सुधारको घोषणा गरिएको शताब्दी वर्ष विशेष मनाउने गरी नयाँ सुधारका बुँदा तयार गर्ने गरी गृहकार्य समेत सुरु भइसकेको धर्मगुरु शेर्माले बताउनुभयो । किराँत समुदायमा सुधारको घोषणा गर्नुहुने महागुरु फाल्गुनन्दलाई विसं २०६६ मङ्सिर १६ गते पाँचथरमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले १६ औँ राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो ।

यसैगरी विसं १९८८ वैशाख २४ गते किराँत धर्मगुरुहरुको महासभा बसी ‘सत्यधर्म मुचुल्का’ जारी भएको पाँचथरको रानीटारको शिरमा रहेको लोब्रेकुटीमा विसं २०७१ वैशाख २४ गते किराँत समाज सुधार स्तम्भ तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अनावरण गर्नुभएको थियो । यो ठाउँलाई किराँत धर्मावलम्बीले पवित्र तीर्थस्थलका रुपमा मान्ने गर्छन् । महागुरु फाल्गुनन्द कुटी बनाई तपस्या गर्नुभएको स्थलका रूपमा पनि यो ठाउँ परिचित छ । लोब्रे कुटी भएको स्थल रमणीय ठाउँमा रहेकाले धार्मिक पर्यटकीय स्थलका रुपमा समेत विकास गर्न सकिने किराँत समुदायका अगुवाको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *