डोल्पा । ठुली भेरी नगरपालिका डोल्पाका नगरप्रमुख सुवर्ण कुमार बुढाले सामाजिक सञ्जालमार्फत कडा अभिव्यक्ति दिएका छन्। फेसबुक पोस्टमार्फत उनले नगरपालिका प्रतिको आलोचनालाई लक्षित गर्दै आलोचकहरूलाई खुला बहसको चुनौती दिएका छन्।
बुढाले लेखेका छन्, “ठुली भेरी सरकार प्रती पैसा गन्ध आयको भन्ने बैज्ञानिक हरु लाइ कहाँ, कुन ठाउ, कुन दिन, समयमा भेट गर्ने अबसर प्राप्त गरिदिन अनुरोध छ।” उनको भनाइ अनुसार, सरकारमाथि प्रश्न उठाउनेहरूसँग प्रत्यक्ष संवाद गर्न उनी इच्छुक छन्।
आफ्नो कार्यशैली र प्रतिबद्धता प्रति स्पष्ट दृष्टिकोण राख्दै उनले थप लेखेका छन्, “आफ्नो आङमा भैंसी हिडेको नदेख्ने, अर्काको आङमा जुम्रा देख्ने ती आँखामा सरकारले पावर वाला चस्मा किनिदिने निर्णय गरेको छ।”
बुढाले आफुले नियालेर हेरेको, साथ दिएको, बुझेको र जनताको सेवामा खटिएको दाबी गर्दै निष्पक्ष बहसका लागि “हैसियत नै राखेर खुला ठाउँमा बहस गर्न तयार छौं” भन्दै कडा चेतावनी पनि दिएका छन्।
नगरप्रमुख बुढाको यो अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। स्थानीय सरकारमाथि उठेका प्रश्नहरूको प्रतिउत्तर दिन र पारदर्शिता देखाउन यस्तो चुनौती दिएको बुझिएको छ।
