बीपी राजमार्गमा थप १ महिना यात्रुवाहक सवारी चलाउन रोक

काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा थप १ महिना राति यात्रुवाहक सवारी साधन चलाउन रोक लगाइएको छ । यसअघि गत असार ७ गते देखि लागू हुनेगरी साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म १५ दिनका लागि राति यात्रुवाहक सवारी सञ्चालनमा रोकि लगाइएको थियो । बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रे र सिन्धुलीका सीडीओ कार्यालयले थप १ महिना राति सवारी आवागमन रोक लगाउने विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको बैठकले आगामी असार २२ गते देखि लागू हुनेगरी १ महिना राजमार्ग रोक लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए । उनका अनुसार, हाल देशमा मनसुन सक्रिय अवस्थामा रहेको हुँदा कुनै पनि समयमा वर्षातका कारण विपद् (बाढी, पहिरो) को अवस्था सिर्जना हुन सक्ने भएकोले त्यस्ता विपद् जन्य घटनाबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न र यात्रुको सुरक्षाको लागि यस्तो निर्णय गरिएको हो ।

बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेबेसी हुँदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधनलाई असार २२ गते साँझ ०६:३० बजेदेखि विहान ०५:०० बजे सम्म १ महिनाको लागि निषेध गरिएको हो । त्यस्तै, जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक सूचना प्रकाशित गर्दै थप ३० दिन रातिको समयमा यात्रुवाहक सवारी चलाउन रोक लगाइएको जानकारी गराएको छ ।

प्रशासकीय अधिकृत प्रविण कटुवालले जारी गरेको विज्ञप्तिमा मनसुन सक्रिय नै रहकोले सार्वजनिक तथा निजी सवारी साधनलाई असार २१ गते साँझ ०६:३० बजेदेखि विहान ०५:०० बजे सम्म १ महिनाको लागि निषेध गरिएको उल्लेख छ । यसअघि काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको सिन्धुलीको खुर्कोटमा बसेको बैठकले बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दै १५ दिनको लागि बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा यात्रुवाहक सवारी चलाउन रोक लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *