उखु किसानलाई प्रतिक्विन्टन ३५ रुपैयाँ अनुदान दिने सरकारको निर्णय

काठमाडौं : सरकारले उखु किसानलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान दिने निर्णय गरेको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावले उखु किसानलाई अनुदान दिने निर्णय भएको एक मन्त्रीले बताए। आर्थिक वर्ष २०८१-८२ का लागि सरकारले प्रदान गर्ने अनुदान रकम ३५ रुपैयाँ कायम गरिएको ती मन्त्रीको भनाइ छ। सरकारले उखु किसानलाई प्रत्येक वर्ष अनुदान दिँदै आएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षमा पनि उखु किसानलाई अनुदान उपलब्ध गराउने बताएका थिए।

उनले राष्ट्रिय अनुदान नीतिअनुसार उखु किसानले अनुदान रकम पाउने बताएका थिए। अघिल्लो आर्थिक वर्षमा उखु किसानका लागि झन्डै दुई अर्ब रुपैयाँ निकास भएको थियो। जसअन्तर्गत आठ जिल्लाका उखु किसानले पाउनुपर्ने १ अर्ब ४५ करोड बढी रकम कृषि मन्त्रालयले रकमान्तर गरी भुक्तानीका लागि जिल्लाहरूमा पठाएको थियो। कञ्चनपुर, नवलपरासी पश्चिम, बारा, रौतहट , सर्लाही, महोत्तरी, सिराहा र सुनसरी जिल्लाका उखु किसानले पाउनुपर्ने रकमका लागि एक अर्ब ४५ करोड ३२ लाख २१ हजार ८ सय ६८ रुपैयाँ सम्बन्धित जिल्लालाई पठाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *