एमालेमा विद्यालाई  निषेध गर्न खोज्नु राजनीतिमाथिको अंकुश : कर्ण थापा

भक्तपुर । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई नेकपा एमालेभित्रै राजनीतिक सक्रियता रोक्ने प्रयासप्रति पार्टीकै स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले आपत्ति जनाएका छन्। बुधवार नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता थापाले राजनीतिक विचार र अभिव्यक्तिमा लगाइने कुनै पनि प्रतिबन्ध लोकतान्त्रिक मूल्यको ठाडो उल्लङ्घन भएको बताए। थापाले भने, ‘नेकपा एमाले भनेको विचारलाई बन्देज लगाउने पार्टी होइन। हामीले मार्गदर्शक सिद्धान्तको रूपमा जबज अपनाएका छौँ भने विचार, अभिव्यक्ति र राजनीतिक स्वतन्त्रताको सम्मान गर्नुपर्छ।’

राजा रहिसकेका ज्ञानेन्द्र शाहलाई समेत नागरिकको हक खोस्न नमिल्ने बताउँदै थापाले भण्डारीजस्ता नेतृलाई निषेध गर्न खोज्नु राजनीतिमाथिको अंकुश भएको बताए।  ‘कुनै पदमा पुगेपछि त्यसको अवधि हुन्छ त्यसपछि त्यो व्यक्ति आम नागरिक बन्ने हो,  राजनीतिक विषयवस्तु अगाडी सार्दैमा कोही पनि डराउनु पर्दैन, न कसैमाथि कारबाही हुन्छ ,’ थापाले भने। कार्यक्रममा प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले एमालेभित्र विद्या भण्डारीको सक्रियतामाथि उठेका प्रश्नहरू ‘भित्रभित्रै सल्किरहेको भुसको आगो’ भएको टिप्पणी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *