काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले यस वर्षको नाडा अटो शो २०२५ नेपालकै अहिलेसम्मको सबैभन्दा ठूलो र ऐतिहासिक अटो प्रदर्शनी हुने दाबी गरेका छन्। मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले अटो शोमार्फत नेपाली अटो क्षेत्रको वजन र भविष्यमुखी सोच प्रस्तुत गर्न खोजिएको बताए।
चौधरीका अनुसार, यो अटो शो प्रविधि, संस्कृति र अटोमोबाइलको नवीन संयोजन हुनेछ। आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनी ३ लाख वर्गफुट क्षेत्रफलमा फैलिनेछ भने १ लाख ६२ हजार वर्गफुट प्रदर्शनी स्थान रहनेछ।
उनले अटो शो केवल नयाँ मोडल प्रदर्शन गर्ने कार्यक्रम मात्र नभई नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटी दिशातर्फको महत्वपूर्ण कदम पनि भएको बताए। इलेक्ट्रिफिकेशनको द्रुत विकास, नयाँ प्रविधिको प्रयोग, र अटो संस्कृतिको प्रदर्शन यस शोका मुख्य आकर्षण हुनेछन्।
आयोजकले यो वर्ष अटो शोमा १ लाखभन्दा बढी आगन्तुकको उपस्थिति रहने अपेक्षा गरेका छन्। देशभित्रका साथै अन्तर्राष्ट्रिय स्तरका ब्रान्ड तथा कम्पनीहरूको सहभागिता रहनेछ, जसले नेपाली अटो उद्योगको सम्भावना र बजार विस्तारमा टेवा पुर्याउने विश्वास लिइएको छ।
यसअघि पनि नाडा अटो शो देशकै प्रमुख अटो इभेन्टको रूपमा परिचित रहँदै आएको छ तर यस वर्षको संस्करणलाई आकार, सहभागिता र प्रविधिक प्रदर्शनका हिसाबले ऐतिहासिक बनाउन तयारी गरिएको आयोजकले जनाएका छन्।
