सरकारको नियुक्ति हेर्दा पञ्चायतकालीन उग्र-अन्धराष्ट्रवादी नाराको सम्झना आउँछ : यादव

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा सांसद उपेन्द्र यादवले देश अझै समावेशी भइनसकेको बताएका छन्। मङ्गलबार (आज) बसेको संसद् बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

सरकारले गरेको २७ न्यायाधीशहरूको नियुक्तिको प्रसङ्ग कोट्याउँदै यादवले नियुक्तिहरू हेर्दाखेरि पञ्चायतकालीन अन्ध राष्ट्रवादी नाराको सम्झना आउने बताए।

‘२७ जना न्यायाधीशहरूको नियुक्तिमा कुनै समावेशीता छैन। यसो आयोगहरू हेर्दा, राजदूतहरूको नियुक्ति हेर्दा यी सबै हेर्दा नेपाल त एउटै जाति, एउटै भाषा, एउटै भेष भएको देश, जुन पञ्चायतकालमा उग्र अन्धराष्ट्रवादी नारा थिए, त्यसको सम्झना आउँछ,’ उनले भने।

यादवले नेपालको संविधानमा २७ ठाउँ ‘समावेशी गरिनेछ’ भनेर लेखिएको भए पनि व्यवहारमा त्यो नभएको भन्दै असन्तुष्टि व्यक्त गरे। ‘त्यसको धज्जी नउडाऔँ। आफैँले गोली ठोकेर मधेसीहरूलाई गोलीमाथि गोली ठोकेर घोषणा गरिएको संविधानको धज्जी नउडाऔँ। दलीय भागबन्डाभन्दा पनि योग्यतम् व्यक्तिहरूलाई दिउँ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *