बागलुङमा एक लाख ९३ हजार पशुचौपायालाई खोप

बागलुङ । बागलुङमा एक लाख ९३ हजार ७२२ पशुचौपायालाई खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले जिल्लाका १० वटै वडाका ८५ वडामा प्राविधिक खटाएर विभिन्न रोगविरुद्धको खोप लगाएको हो । कुकुर, गाई भैँसी, राँगा, गोरु, बाख्रा, बङ्गुरलगायत पशुलाई खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख ऋषिराम सापकोटाले जानकारी दिए ।

उनका अनुसार २५ हजार ५३१ गाई गोरुलाई खोरेत र लम्पी स्किन, ४२ हजार ७२८ भैँसीलाई खोरेत, एक लाख २५५ बाख्रा र ११ हजार ५३८ भेडालाई पिपिआर खोप दिइएको हो । चार हजार ७२८ बङ्गुरलाई हैजाविरुद्धको र आठ हजार ९४२ कुकुरलाई रेबिजको खोप दिइएको सापकोटाको भनाइ छ । गत पुसदेखि जेठसम्म चार चरणअन्तर्गत किसानको गोठमा प्राविधिक पुगेर खोप लगाएका उनले बताए ।

किसान हिउँद र बर्खा घुम्ती बसाइँ गर्ने हुँदा चार चरणमा खोप अभियान सञ्चालन गरिएको उनले उल्लेख गरे । प्रमुख सापकोटाले भने,“जिल्लाका अधिकांश किसान घुम्ती बसाइँ गर्नुहुन्छ, हिउँदको समयमा बेँसीका बारीमा पशुचौपाया बाँध्नु हुन्छ, बर्खा लागेपछि बुकी उक्लिने चलन छ, बुकीमा पुगेर खोप लगाउन सम्भव नहुने भएकाले हामीले जेठ अन्तिम सातासम्म खोप अभियान सञ्चालन गरेका हौँ । पहिले खोप लगाउन नमान्नेहरूमा अचेल पशु सुरक्षाका लागि खोप लाउनुपर्छ भन्ने मानसिकता विकास भएको छ ।” उनका अनुसार पशुसेवा विज्ञ केन्द्रले करिब रु एक करोड लगानीमा खोप अभियान सञ्चालन गरेका हो ।

पहिले खोप लगाउनका लागि किसानको गोठमा पुग्दा दूध घटाउँछ, बिरामी पर्छन् भनेर नमान्ने गरेकामा अहिले फोन गरेरै खोप लगाइदिन आग्रह गर्ने प्रमुख सापकोटाले बताए । तीन वर्ष अगाडि लम्पी स्किन रोगले वस्तुभाउ मरेपछि किसानलाई खोप लगाउनुपर्छ भन्ने चेतनाको विकास भएको उनको भनाइ छ । जिल्लामा अघिल्लो वर्ष दुई लाख १६ हजार ७२ पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको थियो । ढोरपाटन नगरपालिका–९ का किसान थमबहादुर घर्तीले दुई वर्ष अगाडि पालिकाले बुकीमा आएर भैँसी र गाईलाई खोप लगाइदिएको भन्दै त्यसपछि कुनै पनि संस्थाले खोप नदिएको बताए ।

आफूले १४ वटा भैँसी, नौ वटा गाई र ५० को हाराहारीमा भेडा पालन गर्दै आएको उहाँले जानकारी दिए । गत वर्ष सात वटा भेडा मर्दा करिब रु एक लाख नोक्सानी भएको उनको भनाइ छ । “पहिला पहिला पशुलाई खोप लगाइँदैनथ्यो, तीन–चार वर्ष अगाडि पशु चिकित्सकले गोठमा आएर खोप लगाइदिनुभएको थियो, त्यसपछि कोही पनि आउनुभएको छैन”, घर्तीले भने, “नियमित खोप लगाउन नपर्ने भएर हो कि त्यसपछि कोही पनि आउनुभएको छैन । हामी गोठाला बजारमा जान भ्याउँदैनौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *