सीमा क्षेत्रमा थप कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक (आइजी) राजु अर्यालले सीमा क्षेत्रबाट हुने चोरी–निकासी, पैठारी र अवैध आवतजावत रोक्न थप कडाइका साथ सुरक्षा व्यवस्था लागू गर्न निर्देशन दिएका छन् । मंगलबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा भर्चुअल माध्यममार्फत सीमा क्षेत्रमा तैनाथ सबै तहका युनिट कमाण्डरलाई सम्बोधन गर्दै आइजी अर्यालले जवाफदेही, जिम्मेवार र चेन अफ कमाण्ड कायम गर्ने कुरामा जोड दिएका हुन् ।

उनले सीमा सुरक्षामा कुनै कमजोरी देखिएमा वा शंका लागेमा सम्बन्धित कमाण्डर स्वयं छानबिन र कारबाहीको भागीदार बन्ने स्पष्ट पारे। उनले हरेक कमाण्डरलाई मुलुक, जनता र संगठनको हितमा विवेक प्रयोग गर्न स्वतन्त्र रहेको भन्दै सकारात्मक कार्यका लागि मुख्यालयको आदेशको पर्खाइमा बस्न नपर्ने निर्देशन दिए। साथै, सुरक्षाकर्मीलाई आवश्यक आचरणबारे निरन्तर काउन्सिलिङ गर्न र आचरण विपरीत कार्य गर्नेहरूमाथि कठोर कदम चाल्न आदेश दिए। सीमा क्षेत्रमा शंकास्पद व्यक्तिलाई विशेष निगरानीमा राख्न, अवैध आवतजावत रोक्न र सीमा व्यवस्थित गर्न हरेक सुरक्षाकर्मी सदैव चनाखो बन्नुपर्ने उनको भनाइ थियो।

त्यस क्रममा सीमा सुरक्षा विभाग प्रमुख अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरले सबै कमाण्डरलाई सीमा अपराध रोकथाममा सरोकारवाला निकाय तथा स्थानीय समुदायसँग घनिष्ठ समन्वय र सहकार्य गर्न निर्देशन दिए। उनले सीमासम्बन्धी अभिलेखीकरण, तथ्याङ्क व्यवस्थापन र कार्यसम्पादनमा संवेदनशील बन्नुपर्नेमा जोड दिए। कार्यक्रममा सीमासँग जोडिएका बाहिनी मुख्यालय प्रमुखहरूले हाल भइरहेको गतिविधि र चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए भने गण, गुल्म तथा बिओपी कमाण्डरहरूले सीमा सुरक्षाको अवस्था, समस्या र आगामी योजनाबारे जानकारी गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *