ख्याति प्राप्त चिनियाँ अटोमोबाइल कम्पनी अक्वेल नेपाल प्रवेश, ईभी गो नेपाल आधिकारिक बिक्रेता

काठमाडौं । चिनियाँ ख्याति प्राप्त कमर्सियल सवारी उत्पादन कम्पनी अक्वेल आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ। कम्पनीले ईभी गो नेपाल प्रालिलाई नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त गरेको हो। यससँगै अब अक्वेलका विद्युतीय कमर्सियल सवारी साधन नेपालमा उपलब्ध हुने भएका छन्।

करिब दुई दशकदेखि चीनमा कमर्सियल सवारी उत्पादन गर्दै आएको अक्वेलले पछिल्लो समय विद्युतीय सवारी साधन उत्पादनलाई प्राथमिकतामा राखेको छ। कम्पनीले ११ सिट क्षमताका भ्यानदेखि ठूला विद्युतीय बस, पिकअप तथा कार्गो भ्यान उत्पादन गर्दै आएको छ। हालसम्म अक्वेलका विद्युतीय सवारी ७० भन्दा बढी देशमा बिक्री भइरहेको छ।

ईभी गो नेपालका प्रबन्ध निर्देशक अनुपकुमार बरालका अनुसार प्रारम्भिक चरणमा ११, १४ र १६ सिट क्षमताका विद्युतीय भ्यान तथा माइक्रोबस नेपाल भित्राइने छन्। त्यसपछि बजारको मागअनुसार १९, २५ र २६ सिट क्षमताका ठूला विद्युतीय बस, कार्गो भ्यान, पिकअप तथा मध्यम क्षमताका ट्रक ल्याउने तयारी गरिएको छ।

अक्वेलको उत्पादन प्लान्ट चीनको फुजियान प्रान्तमा तथा केन्द्रिय कार्यालय सान्डोङ प्रान्तमा रहेको छ। कम्पनीसँग आफ्नै अनुसन्धान तथा विकास (R&D) केन्द्रसमेत रहेको छ। स्पेयर पार्टसमा विशेषता भएको अक्वेलका पार्टसहरू तुलनात्मक रूपमा कम मूल्यमा उपलब्ध हुने भएकाले यसले नेपाली बजारमा प्रतिस्पर्धात्मक स्थान बनाउन सक्ने अपेक्षा गरिएको छ।

नेपाल प्रवेशसँगै ईभी गो नेपालले काठमाडौंमा सेवा केन्द्र निर्माण सुरु गरिसकेको छ। कम्पनीले छिट्टै देशका प्रमुख सहरमा पनि सेवा केन्द्र विस्तार गर्ने योजना बनाएको छ। साथै, अक्वेलका विद्युतीय भ्यान र माइक्रोबसका लागि आवश्यक स्पेयर पार्टसको पर्याप्त उपलब्धता सुनिश्चित गर्न पनि काम सुरु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *