
काठमाडौं। जनकपुरधाममा आइतबार सरकारको प्रस्तावित नयाँ शिक्षा नीति र विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरूले ठूलो विरोध प्रदर्शन गरेका छन्।निजी विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सन नेपाल, नेशनल प्याब्सन, हिसान र अपेनले संयुक्त रूपमा जुलुस तथा कोणसभा आयोजना गरेका हुन्।विरोध प्रदर्शनमा नेशनल प्याब्सन पर्सा जिल्लाको विशेष उत्साहजनक सहभागिता रहेको थियो।
पर्साबाट मात्रै एक दर्जनभन्दा बढी विद्यालय संस्थापकहरू कार्यक्रममा सहभागी भएका थिए।प्याब्सनका केन्द्रीय संस्थापक सदस्य तथा वरिष्ठ उपाध्यक्ष रामविनय चौरसियाको नेतृत्वमा पर्सा टोलीले प्रदर्शनमा अगुवाइ गरेको थियो।सञ्चालकहरूले नयाँ नीतिले निजी विद्यालयलाई ‘गैरनाफामुखी संस्था’का रूपमा मात्र सञ्चालन गर्नुपर्ने प्रस्तावलाई आपत्तिजनक बताएका छन्।उनले यस प्रावधानले निजी विद्यालयहरूको दीर्घकालीन स्थायित्व, लगानी र नवप्रवर्तनलाई ठप्प पार्ने भन्दै सरकारलाई पुनर्विचार गर्न आग्रह गरे।जुलुसमा सहभागीहरू जनकपुरधामका विभिन्न चोक हुँदै मधेश प्रदेशसभा अगाडि पुगेका थिए।
त्यहाँ आयोजित कोणसभामा विद्यालय सञ्चालकहरूले आफ्ना माग प्रस्तुत गरेका थिए।कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूको उज्ज्वल भविष्य सुरक्षित राख्न निजी विद्यालयहरूको भूमिका अपरिहार्य रहेको बताए।सरकारले ल्याएको नीति लागू भएमा हजारौं शिक्षक, कर्मचारी र विद्यार्थी प्रभावित हुने चेतावनी पनि दिइयो।नेशनल प्याब्सनका शिक्षकहरूले गुणस्तरीय, प्रतिस्पर्धी र व्यवहारिक शिक्षा सुनिश्चित गर्न सरकारलाई सचेत गराए।विरोध कार्यक्रममा सहभागीहरूले ‘शिक्षामा निजी क्षेत्रको योगदान अस्वीकार गर्न सकिँदैन’ भन्ने नारा दिएका थिए।
प्रदर्शनमा विभिन्न जिल्लाबाट आएका विद्यालय सञ्चालक, शिक्षक, विद्यार्थी र अभिभावकको पनि उल्लेखनीय सहभागिता रहेको थियो। आन्दोलनमा उपस्थित शिक्षकहरूले सरकारले माग सम्बोधन नगरेमा आन्दोलन अझ तीव्र पारिने चेतावनी दिएका छन्।उनका अनुसार आवश्यक परे देशव्यापी विद्यालय बन्दजस्ता कठोर कदम चाल्न बाध्य हुने स्थिति आउन सक्छ।
निजी विद्यालय सञ्चालकहरूले शिक्षा प्रणालीलाई अझ सबल र व्यावहारिक बनाउन सरकारले संवादमार्फत समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।
