मुलुकलाई प्रतिगमनमा लैजानेहरूले युवालाई दुरुपयोग गरे : शंकर पोखरेल

काठमाडौं, २९ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमालेले युवालाई दुरुपयोग हुनबाट जोगाउने अनेक प्रयत्न गर्दा पनि भदौ २३ र २४ का दुःखद घटना भएको बताएका छन् । बुधबार एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले मुलुकलाई प्रतिगमनमा लैजानेहरूले युवालाई दुरुपयोग गरेको कुरा थाहा पाएर विभिन्न कार्यक्रम सञ्चालन गरिएका भए पनि ती पर्याप्त प्रभावकारी हुन नसकेको जानकारी दिए। ‘हाम्रा प्रयत्नको तुलनामा षडयन्त्रकारीका षडयन्त्र मुखर रूपमा अघि बढे र भदौ २३ र २४ को घटना भयो,’ उनले भने।

महासचिव पोखरेलले सहरिया नवधनाढ्य र युवाहरू एमालेबाट टाढिँदै गएको बताएका छन् । भूमिहीन, सुकुम्बासी र गरिव जनता पनि विभिन्न आश्वासन र प्रलोभन देखाएर पार्टी विरुद्ध फाकिएका उनको भनाइ छ। कतिपय वैदेशिक घटनाक्रमले पनि नेपालको जनमत प्रभावित हुने गरेको उनले उल्लेख गरे। उनले भने, ‘मिसन ग्रासरुटको समयमा प्रत्येक वडामा १० जना युवालाई पहिचान गरी नेतृत्व विकासको योजना बनाइएको भए पनि सो योजना अपेक्षाअनुसार कार्यान्वयन हुन सकेको छैन।’

महासचिव पोखरेलले प्रदेशदेखि वडासम्म पार्टीलाई व्यवस्थित गरी युवाबीचको कामलाई अघि बढाउने निर्देशन भए पनि अपेक्षित परिणाम नआएको जानकारी दिए । उनले केन्द्रीय सचिवालय बैठकले पार्टी एकताको एजेण्डालाई प्रमुखता दिएको र केन्द्रीय कमिटी बैठकले पनि त्यसैलाई प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *