काठमाडौं, १६ कात्तिक । नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौंका मेयर बालेन साहले अब जनता झुक्काउने दिन सकिएको बताएका छन् ।
शनिबार राति साहले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेका स्टाटसले उनी कस्ता स्तरका हुन् भन्ने स्पष्ट भएको भन्दै बस्नेतले अब जनता नझुक्किने जिकिर गरेका हुन् ।
बस्नेतले आइतबार बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हिजो राति बालेन साहले लेखेर तुरुन्तै हटाएको स्टाटसले त उनी वास्तवमै कस्ता स्तरका हुन् भन्ने कुरा स्पष्ट रूपमा बाहिर आएको छ ।’
उनले आफूले तीन वर्ष अगाडि बालेन साहको हैसियत र यथार्थको बारेमा टिप्पणी गर्दा गाली गर्नेहरुले अहिले ठिकै भनेको बताए । ‘तीन वर्ष अगाडि जब मैले बालेन साहको हैसियत र यथार्थको बारेमा टिप्पणी गरेको थिएँ, त्यतिबेला मलाई गाली गर्ने धेरै साथीहरूले अहिले आएर भन्छन् ‘तपाईं ठिक हुनुहुँदो रहेछ, हामी नै गलत रहेछौँ,’ उनले लेखेका छन् ।
उनले थोरै मान्छेलाई धेरै समयसम्म र धेरै मान्छेलाई थोरै समयका लागि झुक्काउन सकिने भन्दै बालेनले अब झुक्काउन नसक्ने पनि बताए ।
‘भन्ने गरिन्छ थोरै मान्छेलाई धेरै समयसम्म झुक्काउन सकिन्छ, धेरै मान्छेलाई थोरै समयका लागि झुक्काउन सकिन्छ, तर सबैलाई सधैं झुक्काउन सकिँदैन । बालेन साहले अब जनता झुक्काउन दिन सकिएका छ,’ उनले लेखेका छन् ।
