आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव

काठमाडौँ, २० कात्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जेनजी आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहका प्रतिनिधिहरुलाई सुझाव दिनुभएको छ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जेनजी समूहबीच आज यहाँ भएको राजनीतिक संवादमा पार्टीका संस्थापक अध्यक्षसमेत रहनुभएका डा भट्टराईले जेनजी आन्दोलन नयाँ पुस्ताको समग्र आवाज रहेको बताउँदै यसलाई वर्तमान सरकारले संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो ।

“यो रुपान्तरीत आन्दोलनलाई संस्थागत गर्न औपचारिक रूपमा सरकारसँग लिखित सम्झौता गर्ने तर्फ जोड दिनुहोस्”, उहाँले भन्नुभयो, “संस्थागत गर्नुभएन भने यो ऐतिहासिक आन्दोलन विलाएर जाने खतरा छ ।” साथै उहाँले जेनजीका विभिन्न प्रश्नको जवाफ दिनुभएको थियो । पहिलो चरणको संविधान लेखन विफल भएको र दोस्रो चरणका संविधान लेखनमा आफ्नो पार्टीको शक्ति कमजोर भएकाले संविधान अपुरो भएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “अब यो अपुरो संविधानलाई पुरा गर्ने काम जेनजीको हो ।” पार्टीका संयोजक दुर्गा सोबले विगतमा पार्टीले समाज सुहाउँदो मुद्दामा विचार विमर्श गर्दै आएको बताउँदै अब जेनजी आन्दोलनले देखाएको रुपान्तरणकारी मार्गमासमेत सहकार्य गरेर वैकल्पिक राजनीतिक शक्तिको रूपमा देखापर्ने बताउनुभयो । कार्यक्रममा सान्तेन राई, प्रभात लाभ, अर्णव चौधरी, विकास रसाइली, अमित खनाल ऊर्जा, प्रदिप पाण्डे, माजिद अन्सारीलगायतका जेनजी समूहका अगुवाले आफ्ना धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *