राउते खोलामा पक्की पुल निर्माणले नागरिकलाई सहज

भोजपुर : जिल्लाका पश्चिमी क्षेत्रका स्थानीयवासीको मुख्य समस्याका रूपमा रहेको राउते खोलामा पक्की पुल बनेपछि सहजता भएको छ । पक्की पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीय अहिले सहज रूपमा आवतजावत गर्न थालेका छन् ।

राउते खोलामा पक्की पुल निर्माणपछि छिमेकी जिल्ला खोटाङसँगको आवतजावत पनि सहज भएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताए । राउते खोलामा पुल बनेपछि स्थानीयको दैनिकीमा थप सहजता आएको उनको भनाइ छ ।

“राउते खोलामा पक्की पुल नहुँदा यहाँका नागरिकले धेरै सास्ती भोग्दै आएका थिए,” उनले भने, “अब यो खोलामा पक्की पुल बनेर सञ्चालनमा आएको छ । यसले यहाँको जनजीवनमा सहजता थपेको छ ।

यो पुलले छिमेकी जिल्लाका खोटाङका नागरिकलाइसमेत राहत पु¥याएको छ ।” राउते खोला पुलले साविक वडा नं ७ राउते र साविक वडा नं ५ लेखर्कलाई जोडेको छ ।

यो खोलामा खोलामा कोशी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय भोजपुरले तीन करोड ५७ लाख रुपैयाँ लागतमा पुल निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीका अनुसार, एक स्पानमा निर्माण भएको यो पुलको कुल लम्बाइ १६ मिटर २० सेन्टिमिटर रहेको छ । पुल सञ्चालनमा आएपछि स्थानीयको वषौँदेखिका समस्या हटेको उनको भनाइ छ ।

बाढी आउने समयमा खोलामा नै बास बस्नुपर्ने बाध्यता रहेकोमा अहिले पक्की पुल बनेपछि यातायात सञ्चालन सहज भएको सवारी चालक मिलन तामाङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *