

पर्सा, ३० कात्तिक। पर्सा सीमाक्षेत्रमा तस्करी तथा भन्सार छलीका गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपालले लगातर सञ्चालन गरिरहेको अभियान अन्तर्गत एकै दिन चारवटा छुट्टाछुट्टै अपरेशनमार्फत १७ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका अवैध सामान, मोटरसाइकल र पशुचौपाया नियन्त्रणमा लिएको छ। बरामद सबै सामग्री वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, बीओपी महादेवपट्टीबाट खटिएको टोलीले जिराभवानी गाउँपालिका–१, बलुवा स्थित मुस्तुफा मियाको घरमा छापा मार्दा १५ कार्टुन लाभा किप्याड मोबाइल बरामद गरेको हो।४५० थान मोबाइलको बजार मूल्य करिब रु. ९,००,००० रहेको सशस्त्र प्रहरीले जनाएको छ। सामग्री भन्सार छली गरेर ल्याइएकाले आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको हो।
मो.सा.मा लोड गरी ल्याइएका कपडा तथा किराना सामान नियन्त्रण
अर्को अपरेशनमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्साबाट खटिएको टोलीले वीरगञ्ज–२, भगुवा क्षेत्रमा भारतबाट भन्सार छली ल्याइएका कपडा तथा किराना सामान नियन्त्रणमा लिएको छ।BR 29 T 9411 नम्बरको मोटरसाइकलमा लोड गरी परवानीपुरतर्फ लैजाँदै गर्दा नियन्त्रणमा लिइएको उक्त सामानको मूल्य रु. ३,८०,४२० रहेको छ।सो कार्यमा प्रयोग गरिएको मो.सा.को मूल्य रु. १,००,००० तोकिएको छ।
वीरगञ्ज–१६ को सीमाक्षेत्रबाट थप सामान तथा पशुचौपाया बरामद
यसैगरी, नं.१३ गण मातहतको प्र.सी.सु. गुल्म, वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ को सीमाक्षेत्रमा निगरानी गर्दै जाने क्रममा कपडा, किराना सामान र पशुचौपाया समेत नियन्त्रणमा लिएको छ।बरामद सामग्रीहरू मिलाएर कुल मूल्य रु. ३,२१,४२० बराबर परेको सशस्त्र प्रहरीले जनाएको छ।
बिन्दवासिनी–५ झौवाबाट तोरी बरामद
गुल्म अलौबाट खटिएको अर्को टोलीले बिन्दवासिनी–५, झौवाबाट भारतबाट अबैध रूपमा ल्याइएका रु. ११,००० बराबरका तोरी (तेलका बिउ) समेत नियन्त्रणमा लिएको छ।सबै सामग्रीहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।
सीमामा नियमित गस्ती र आकस्मिक कारबाही प्रभावकारी
सीमाक्षेत्र अत्यन्तै खुला र संवेदनशील भएकाले तस्करी नियन्त्रण चुनौतीपूर्ण रहेको अवस्थामा पनि सशस्त्र प्रहरी बलले दैनिक गस्ती, आकस्मिक निरीक्षण र विशेष सूचनामा आधारित अपरेशन मार्फत तस्करी नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।स्थानीय बासिन्दाहरूका अनुसार सशस्त्र प्रहरीले सक्रियता बढाएपछि यस्ताखाले गतिविधि विगतको तुलनामा धेरै घटेका छन्।
राजस्व सुरक्षा र कानुनी कारवाहीमा शून्य सहनशीलता
बरामद सामग्री भन्सार कार्यालयमा बुझाइएपछि कानुनी प्रक्रिया अघि बढ्ने भन्सार कार्यालयले जनाएको छ।भन्सार छली तथा तस्करीमा संलग्नहरूमाथि कडा कारबाही हुने चेतावनी समेत दिइएको छ।सशस्त्र प्रहरी बलले सार्वजनिक सुरक्षासँगै राजस्व सुरक्षा आफ्नो महत्वपूर्ण दायित्व रहेको बताउँदै आएको छ। तस्करीका कारण मुलुकले वार्षिक रूपमा ठूलो मात्रामा राजस्व गुमाइरहेको अवस्थामा सशस्त्र प्रहरी बलको सक्रियता सराहनीय रहेको अधिकारीहरू बताउँछन्।

सशस्त्र प्रहरीको प्रतिबद्धता र सतर्कता प्रशंसनीय।
एकै दिनमा चार ठूला अपरेशन सफलतापूर्वक सम्पन्न गर्नु सशस्त्र प्रहरी बलका जवानहरूको पेशागत दक्षता, सतर्कता र जिम्मेवारीप्रति उच्च प्रतिबद्धताको प्रमाण हो।सीमामा कडाइ बढेपछि तस्करहरूको क्रियाकलाप घट्दै गएको पनि सुरक्षास्रोतहरूले बताएका छन्।
“सूचनामा आधारित कारबाही निरन्तर चल्छ” – सूचना अधिकारी योन्जन
सशस्त्र प्रहरी बलका सूचना अधिकारी स.प्र.ना.उ. विश्वराज योन्जनले सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरी बल सदैव तत्पर रहेको बताए।“हामीले प्राप्त सूचनाका आधारमा तत्काल कारबाही गर्छौं। खुला सीमालाई सुरक्षित राख्न नियमित गस्ती, अनुगमन तथा निगरानी निरन्तर जारी छ,” उनले भने।उनका अनुसार यस किसिमका कारबाहीले राष्ट्रिय अर्थतन्त्र जोगिन सहयोग पुग्नुको साथै स्थानीय समुदायमा सुरक्षा प्रतिको विश्वास थप बढेको छ।
अझ कडा निगरानी र कारबाहीको तयारी
पर्सा जिल्लामा पछिल्लो समय तस्करीजन्य अपराधहरू केही बढेको संकेत पाएपछि निगरानीलाई अझ कडा बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।आगामी दिनमा यस्ता कारबाही अझ तीव्र रुपमा सञ्चालन गरिने पनि सूचना अधिकारी योन्जनले बताए।

