काठमाडौं । नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व कुल रु २६ खर्ब २३ अर्ब ९५ करोड ४० लाख पुगेको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार २०८२ असार मसान्तसम्म केन्द्रीय बैंकको वित्तीय अवस्था अघिल्लो वर्षको तुलनामा २९.२३ प्रतिशतले वृद्धि भएको छ।
प्रतिवेदनमा विभिन्न कोषमा आवश्यक रकम छुट्याएपछि बाँकी रु ४२ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय केन्द्रीय बैंकले गरेको उल्लेख छ।
आर्थिक वर्ष २०८१/८२ मा विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभ–हानि समायोजनपूर्वको खुद् आय रु ८० अर्ब ४८ करोड २६ लाख ५० हजार रहेको छ। यो अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशत वृद्धि हो।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९१ अनुसार राष्ट्र बैंकले वासलात, आय–व्यय तथा सम्बन्धित वित्तीय विवरण समेटेर वार्षिक प्रतिवेदन तयारी गरी आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने कानुनी व्यवस्था छ।
