काठमाडौं : बल्खुमा आज खाली गरिएको सुकुमवासी बस्ती नजिक खोलामा एक व्यक्ति मृत फेला परेका छन् । शुक्रबार बिहान घर भत्केको हेर्न सक्दिनँ भन्दै निस्किएका व्यक्ति दिउँसो बल्खु खोलामा मृत भेटिएका हुन् ।
मृत फेला परेका व्यक्ति ६१ वर्षीय ईन्द्रबहादुर राई रहेको उनकी पत्नी सरिता राईले बताइन् । ‘बिहान घर भत्किएपछि एक्लै बर्बराउँदै हेर्न सक्दिनँ भनेर निस्किनुभएको थियो,’ सरिताले भनिन्, ‘अहिले यस्तो अवस्थामा भेटिनुभयो ।’
पत्नी सरिता र उनका छोरा अहिले घटनास्थलमै छन् । स्थानीयबासीका अनुसार ईन्द्रबहादुरको परिवार बल्खुको सुकुमवासी बस्तीमा १६/१७ वर्षदेखि बस्दैआएको थियो ।
