वीरगञ्ज महानगरपालिकाको संस्थागत विद्यालयहरूलाई कडा चेतावनी सार्वजनिक बिदाको दिन विद्यालय सञ्चालन गरे वा निर्देशन अटेर गरे लाइसेन्स समेत खारेज हुन सक्ने

वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले संस्थागत विद्यालयहरू (मन्टेश्वरीसमेत) लाई लक्षित गर्दै अत्यन्तै कडा निर्देशन जारी गरेको छ। महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछाने ले नेपाल सरकारद्वारा आइतबार सार्वजनिक बिदा घोषणा गरिएको अवस्थामा अर्को सूचना जारी नभएसम्म सम्पूर्ण विद्यालयहरूमा आइतबार पठनपाठन पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएका छन्।

महाशाखाका अनुसार कतिपय विद्यालयहरूले सार्वजनिक बिदाको दिनसमेत विद्यालय सञ्चालन गरिरहेको, अतिरिक्त कक्षा सञ्चालन गर्ने तथा विद्यार्थीलाई उपस्थित हुन दबाब दिने गरेको सूचना प्राप्त भएपछि महानगरपालिका कडा रूपमा प्रस्तुत भएको हो। यस्तो कार्य सरकारको निर्णय, स्थानीय तहको निर्देशन तथा प्रचलित शिक्षा ऐन–नियमको प्रत्यक्ष उल्लंघन भएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले अब विद्यालयहरूको नियमित अनुगमनलाई तीव्र बनाउने तयारी गरेको छ। सार्वजनिक बिदाको दिन विद्यालय सञ्चालन गरेको, निर्देशन अटेर गरेको वा विद्यार्थी तथा अभिभावकमाथि अनावश्यक दबाब सिर्जना गरेको पाइएमा सम्बन्धित विद्यालयलाई पहिलो चरणमा स्पष्टीकरण सोधिने र अटेर गरेमा कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिइएको छ।

महाशाखाले स्पष्ट रूपमा चेतावनी दिँदै नियमविपरीत कार्य गर्ने विद्यालयहरूको दर्ता तथा सञ्चालन अनुमति (लाइसेन्स) समेत खारेज गर्न सकिने जनाएको छ। महानगरपालिकाले शिक्षा क्षेत्रलाई व्यापारिक र अव्यवस्थित बनाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेको छ।

त्यसैगरी, केही संस्थागत विद्यालयहरूले विद्यालय हाताबाटै पाठ्यपुस्तक, विद्यालय पोशाक, स्टेशनरी सामग्री लगायतका वस्तु बिक्री वितरण गरिरहेको गुनासो पनि महानगरपालिकासम्म पुगेको छ। विद्यालयलाई व्यापारिक केन्द्र बनाउने र अभिभावकलाई बाध्य बनाएर सामग्री खरिद गराउने प्रवृत्ति तुरुन्त बन्द गर्न निर्देशन दिइएको छ।

विद्यालय प्रशासनले आफ्नै हाताबाट किताब, ड्रेस वा स्टेशनरी बिक्री गरेको फेला परेमा आर्थिक जरिवाना, प्रशासनिक कारबाहीदेखि विद्यालयको अनुमति रद्दसम्मको प्रक्रिया अघि बढाइने चेतावनी महानगरपालिकाले दिएको छ।

यस्तै, पाठ्यक्रम विकास केन्द्रले तोकेकोभन्दा बढी तथा बालबालिकामाथि अनावश्यक बोझ पर्ने गरी अतिरिक्त पुस्तकहरू जबरजस्ती लागू गरिएको पाइएमा पनि सम्बन्धित विद्यालय प्रशासनलाई कानुनी दायरामा ल्याइने बताइएको छ। साना बालबालिकामाथि अत्यधिक पुस्तकको बोझ थोपरिने कार्यले उनीहरूको स्वास्थ्य, मानसिक विकास तथा अध्ययन प्रणालीमै नकारात्मक असर पार्ने भएकाले यस्तो कार्य तत्काल रोक्न निर्देशन दिइएको छ।

शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले कानुनको पालना सबै विद्यालयको दायित्व भएको उल्लेख गर्दै महानगरपालिकाको निर्देशनलाई बेवास्ता गर्ने कुनै पनि विद्यालयलाई छुट नदिइने स्पष्ट पारेका छन्।

वीरगञ्ज महानगरपालिकाले “कानुन मान्नु सबैको साझा कर्तव्य हो, कानुन उल्लंघन गर्नु कारबाहीको भागीदार बन्नु हो” भन्ने सन्देशसहित सम्पूर्ण विद्यालय प्रशासनलाई सरकार तथा महानगरपालिकाको निर्देशन पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ।

अब पनि सार्वजनिक बिदाको दिन विद्यालय सञ्चालन गर्ने, विद्यालयबाटै किताब तथा पोशाक बिक्री गर्ने, विद्यार्थीमाथि अनावश्यक पुस्तकको बोझ थोपर्ने वा महानगरपालिकाको निर्देशन अटेर गर्ने विद्यालयहरूलाई कुनै पनि हालतमा छुट नदिइने तथा आवश्यक परे सञ्चालन अनुमति (लाइसेन्स) समेत खारेज गरिने चेतावनी महानगरपालिकाले दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *