काठमाडौं : संविधान संशोधनको बहसपत्र तयार गर्न गठित सरकारी कार्यदलले उद्योग, वाणिज्य तथा निजी क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग औपचारिक छलफल सुरु गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले संविधान संशोधनका विषयमा सुझाव सङ्कलनका लागि आज बैठक डाकेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेदेखि सुरु भएको बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरूले मुलुकको आर्थिक समृद्धि र व्यावसायिक वातावरण सुधारका लागि संविधानमा गरिनुपर्ने आवश्यक परिमार्जनबारे सुझाव दिइरहेका छन्।
कार्यदलले संविधानलाई सान्दर्भिक र सर्वस्वीकार्य बनाउन विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग सुझाव लिने क्रमलाई तीव्रता दिइरहेको छ।
