काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकारको रक्षा र संविधानको मौलिक हकहरूको कार्यान्वयन गर्न सरकार कटिबद्ध रहेको बताएका छन् ।मानव अधिकार रक्षकहरूको पाँचौँ राष्ट्रिय सम्मेलन एवं राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) को छैटौँ राष्ट्रिय महाधिवेशनलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानव अधिकारका लागि आन्दोलन गर्ने दुई ठुला दलको सहभागितामा अहिलेको सरकार बनेकाले यसले मानव अधिकारको उल्लङ्घन हुन नदिन र कानुनी शासनको पालना गर्नमा विशेष महत्व दिने स्पष्ट गरेका हुन् । ‘अहिले व्यवस्थामा परिवर्तनसँगै अवस्थामा परिवर्तन भइसकेको तर फेन्सी (नक्कली) मानव अधिकारका कुरा गर्नेहरू पनि देखिएका छन् । सरोकार नभएको, अर्थ र मर्म थाहा नभएको वा थाहा पाएर पनि बोल्नका लागि बोल्नेहरु छन् । सत्य कुरा बोल्दा मानव अधिकार रक्षकहरूलाई अमानवीय धम्की दिने असामाजिक क्रियाकलाप भएका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले मानव अधिकार हनन्कर्ताहरुलाई कानुनको दायराम ल्याउँछ ।’
