आगामी निर्वाचनमा एक्लै चुनाव लड्छौँ : अध्यक्ष दाहाल

 नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै चुनाव लड्ने बताउनुभएको छ ।

शनिबार भक्तपुरको सूर्यविनायकमा माओवादी केन्द्र भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको राजनीतिक प्रशिक्षणमा अध्यक्ष दाहालले जनताको बलमा चुनावमा जाने बताए । विसं २०६४ को निर्वाचनमा आफ्नै मुद्दाको बलमा विजयी भएको स्मरण गर्दै उनले भने, “आगामी दिनमा माओवादी केन्द्रले कांग्रेस र एमालेसँग समीकरण गर्दैन, आफ्नै खुट्टामा उभिएर निर्वाचन लड्छौँ ।”

पार्टीभित्र गुटबन्दी, अराजकतावादी तथा व्यक्तिवादी आत्मकेन्द्रित हुने प्रक्रिया बढेकाले पार्टीमा सङ्गठनात्मक गतिविधि जुन गतिमा अगाडि बढ्नुपर्ने हो त्यो नबढेको अध्यक्ष दाहालको भनाइ थियो । पार्टीका गतिविधि गतिशील बनाएर अघि बढ्दै यथास्थितिलाई तोडेर नयाँ यथार्थतिर र नयाँ प्रक्रियातिर जाने सङ्कल्प लिएको उनले बताए ।

लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको उल्लेख गर्दै अध्यक्ष दाहालले माओवादी केन्द्र र जनताको समाजवादी गणतन्त्रबीच ठूलो वैचारिक सङ्घर्षको फाइदा उठाएर राजावादीहरूले राजतन्त्र फर्काउन सकिन्छ कि भनेर प्रयास गरिरहेको बताए। कार्यक्रममा पार्टीका जिल्ला सदस्य, विभिन्न भ्रातृ सङ्गठनका पदाधिकारी प्रतिनिधिलगयतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *