कांग्रेस प्रमुख सचेतकको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माओवादीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सत्तारुढ नेपाली कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद दुर्गा राईले घिमिरेको भनाइ रेकर्डबाट हटाउन माग गरेकी हुन् ।

‘…यस्तो विचारले अनुशासित र मर्यादित रुपमा रहेको समाजलाई अराजकतातिर पुर्‍याउँछ । त्यसैले यो भनाइलाई रेकर्डबाट हटाउन सभामुख महोदयको रुलिङको माग गर्दछु’ उनले भनिन् । त्यसअघि आकस्मिक समय लिएर बोल्दै राप्रपाका सांसद दिपक सिंहले भने घिमिरेको प्रस्तावको विरोध गरेका थिए । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरले देशको विकासका लागि यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए ।

प्रतिनिधिसभाको बैठबमा विशेष समय लिएर बोलेका  घिमिरेले देशमा रोजगारी सिर्जना र आर्थिक विकासका लागि यौन व्यवसायलाई नेपालमा खुला गर्नुपर्ने बताएका थिए । धार्मिक पर्यटकले पैसा खर्च नगर्ने र त्यसले देशको अर्थतन्त्रमा टेवा नदिएकाले अब यौन व्यवसायतर्फ जान ढिलो गर्न नहुने उनको आग्रह थियो । ‘यौन व्यवसायलाई खुला गरौँ । यसबाट धेरै विदेशी पर्यटक आउँछन् । धार्मिक पर्यटकभन्दा यौन पर्यटनबाट देशलाई फाइदा छ,’ घिमिरेले भनेका थिए । कांग्रेसको प्रमुख सचेतकको यस्तो भनाइले समाजलाई अराजकतातिर लैजान सक्ने भन्दै माओवादीले संसदीय रेकर्डबाटै हटाउन माग गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *