मेरो भनाइलाई राजावादीहरूले तोडमोड गरे : किरण

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य किरणले आफ्नो पुरानो भनाइलाई राजावादीहरूले तोडमोड गरेर भ्रम फैल्याएको आरोप लगाएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले करिब पाँच वर्ष अगाडि एउटा अलग सन्दर्भमा कम्बोडियाका राजा सिंहानुकको प्रसङ्ग जोडेर भ्रम छर्ने काम भएको बताएका हुन् । उनले भनेका छन्– ‘नेपालको प्रतिक्रियावादी सत्ता, संसदीय व्यवस्था र सांसदवादी पार्टीहरू असफल भएपछि जनताले त्यसको विकल्प खोजेको आजको स्थितिमा प्रतिगामी शक्तिहरूले राजतन्त्रलाई अगाडि सारेर जनतालाई दिग्भ्रमित गर्न कोसिस गरिरहेका छन् । यस स्थितिमा म के स्पष्ट गर्न चाहन्छु भने इतिहास सधैँ अगाडि बढ्छ, कहिल्यै पछाडि फर्किँदैन । प्रतिगामीहरूको यस प्रकारको निकृष्ट कदमको म विरोध गर्दछु । ‘

उनी थप भन्छन्– ‘नेपाली जनतालाई प्रतिगामी शक्तिहरूले भ्रमित गर्न कोसिस गरिरहेको बेला आजभन्दा करिब पाँच वर्ष अगाडि एउटा अलग सन्दर्भमा कम्बोडियाका राजा सिंहानुकको प्रसङ्ग जोडेर राजतन्त्रका बारे मैले बोलेको विषयलाई बङ्ग्याई केही दरवारीया सञ्चार माध्यमद्वारा मोहन वैद्यले वर्तमान परिस्थितिमा राजसंस्था पुनर्स्थापना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् भनी गरिएको गलत प्रचारबाजी प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो नयाँ जनवादी गणतन्त्रको खुड्किलो पार गरी वैज्ञानिक समाजवाद तथा साम्यवाद प्रतिको मेरो अटुट आस्था, विश्वास र त्यसका लागि मैले जीवनभर गर्दै आएको सङ्घर्ष प्रतिको आक्रमण मात्र होइन, राजनीतिक बेइमानी समेत हो । म यसलाई पूर्णतः खारेज गर्दछु र यस प्रकारका गलत प्रचारबाजीका भ्रममा नपर्न सम्बन्धित सबैलाई विशेष आग्रह गर्दछु । ‘ वर्तमान सङ्कटको विकल्प राजतन्त्र नभई सङ्घीय जनगणतन्त्रको स्थापना भएको पनि उनले प्रष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *