मकवानपुरमा बलेरो दुर्घटना हुँदा ९ जना घाइते, ६ को अवस्था गम्भीर

हेटौंडा, २४ वैशाख । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्रि सडक खण्डमा बलेरो दुर्घटना हुँदा ९ जना घाइते भएको छन् । दुर्घटनमा ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आज बिहान खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको बलेरो अनियन्त्रित हुँदा सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा राक्सिराङ–९ बस्ने १६ वर्षीय हिमाल बस्नेत, सोही ठाउँका ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान, उनको श्रीमती ७० वर्षीया फुलमाया घलान, ३८ वर्षीय रुपबहादुर राउत, ४८ वर्षीय दीपक खड्का गम्भीर घाइते भएका छन् ।

दुर्घटनमा सोही स्थानका ५० वर्षीय सूर्य अधिकारी, १४ वर्षीय कुमार तामाङ र २८ वर्षीय सुजन तामाङ सामान्य घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि मनहरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *