ठुलीभेरी नगरपालिकामा शैक्षिक अभिवृद्धि तथा उत्प्रेरणा मूलक कार्यशाला सम्पन्न

ठुलीभेरी, डोल्पा । ठुलीभेरी नगरपालिकाको आयोजनामा बैशाख २८ गतेदेखि सुरु भएको विभिन्न शैक्षिक कार्यशालाहरू जेष्ठ २ गते सम्पन्न भएका छन्। सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका अध्यक्षहरू, बाल विकास तथा कक्षा ३ सम्मका शिक्षकहरू, अभिभावक तथा कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूका लागि आयोजित कार्यशालाहरू चरणबद्ध रूपमा सम्पन्न भएका हुन्।

कार्यशालाको उद्घाटन कार्यक्रम दुनैस्थित मरमर होटलमा बैशाख २८ गते प्रारम्भ भई समापन ठुलीभेरी नगरपालिकाको सभाहलमा गरिएको हो। समापन समारोहको सभापतित्व नगर प्रमुख सुबर्ण कुमार बुढाले गर्नुभएको थियो।

समापन कार्यक्रममा सहभागीहरूले कार्यशालामा प्राप्त अनुभवहरू साझा गरेका थिए। श्री आदर्श माविका प्रधानाध्यापकले यस्तो प्रकारका कार्यक्रमहरू प्रेरणादायक रहेको बताउँदै निरन्तरताको अपेक्षा व्यक्त गर्नुभयो। शिक्षक अभिभावक संघका अध्यक्षले सिकेका कुराहरू समाजसम्म पुर्याउने प्रतिबद्धता जनाउनुभयो।

त्यस्तै, अभिभावक प्रतिनिधिले आफ्नो जिम्मेवारीप्रति आत्मसमीक्षा गर्दै अबदेखि बालबालिकाको हितमा सिकेको कुरा व्यवहारमा उतार्ने र अन्य अभिभावकलाई पनि जानकारी गराउने बताउनुभयो।

समापन समारोहमा पालिकाका प्रमुख प्रशासकीय अधिकृतले कार्यक्रम व्यवस्थापनदेखि आगामी योजनासम्मको जानकारी दिँदै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। नगर प्रमुख सुबर्ण कुमार बुढाले आफ्नो प्रमुख उद्देश्य सामाजिक विकाससँगै शैक्षिक रुपान्तरण पनि भएको स्पष्ट पार्दै, आफू निर्वाचित भएदेखि नै शैक्षिक सुधारमा लागिपरेको र यसमा सबैको बराबरी सहभागिता रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमका प्रशिक्षकहरू श्री युबराज अधिकारी, श्री कमल सिलवाल र श्री तुमला ढुङ्गानालाई सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रम सञ्चालन शिक्षा शाखा प्रमुख श्रीमती हंशकला भाटले गर्नुभएको थियो।

नगर प्रमुख बुढाले कार्यशालाको समापन सुरुवातको थालनी भएको उल्लेख गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *