न्युयोर्क । गैर-आवासीय नेपाली संघ (एनआरएनए) न्यूयोर्क शाखाको आयोजनामा सम्पन्न नेपाल डे परेड २०२५ मा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी अमेरिकाले भव्य उपस्थिति जनाएको छ। सेफ सोसाइटीका अमेरिका संयोजक लक्ष्मण सापकोटाका अनुसार परेडमा संस्थाको सहभागिता प्रभावकारी र उल्लेखनीय रह्यो।
हरेक वर्ष जस्तै यस वर्ष पनि नेपाली समुदायको सांस्कृतिक एकता, मौलिकता र राष्ट्रिय गौरवलाई झल्काउने उद्देश्यले आयोजना गरिएको परेडमा नेपाली झाँकी, नृत्य, भेषभूषा र विविध प्रस्तुतीमार्फत समृद्ध नेपाली पहिचान प्रस्तुत गरिएको थियो।
क्यालिफोर्नियाबाट मुक्तिनाथ मन्दिरका संस्थापक अध्यक्ष तथा मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डे र युवा समाजसेवी, व्यवसायी तथा चलचित्र निर्माता प्रीन्श युबराज कार्कीले कार्यक्रममा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्। संयोजक सापकोटाका अनुसार उनीहरुको सहयोगले परेडलाई थप प्रभावशाली बनाउन सहयोग पुग्यो।
काभ्रेपलाञ्चोक निवासी तथा क्यालिफोर्निया स्थित काभ्रे सेवा समाजका समाजसेवी उद्दब प्रसाद हुमागाईले मुक्तिनाथ धामको ब्यानर बोकेर परेडमा सहभागी हुन पाउँदा आफूलाई अत्यन्त भाग्यमानी महसुस भएको बताए।
सामाजिक अभियन्ता अनिल पाण्डेले विगत चार दशकदेखि अमेरिकामा बसोबास गर्दै नेपाल र अमेरिकाबीच सामाजिक सम्बन्ध मजबुत बनाउँदै आएका छन्। उनले सन् २०१२ मा स्यानफ्रान्सिस्कोमा नेपाल डे परेड कार्यक्रम भव्य रूपमा आयोजना गरेका थिए। उता प्रीन्श युबराज कार्की विगत एक दशकदेखि विभिन्न व्यवसायमा संलग्न हुँदै युवा नेतृत्वको उदाहरणीय अभ्यास गरिरहेका छन्।
कार्यक्रमका आयोजकले नेपाल डे परेड २०२५ लाई अझ प्रभावकारी, समावेशी, सभ्य र भव्य बनाइएको बताउँदै सहभागी सम्पूर्ण संघसंस्था, सहयोगी व्यक्ति र समुदायप्रति धन्यवाद व्यक्त गरेका छन्।
यसरी, अमेरिका भित्र नेपाली समुदायबीच एकता, गौरव र संस्कृतिको संरक्षणको प्रतिबिम्ब बनेको नेपाल डे परेड २०२५, सफलतापूर्वक सम्पन्न भएको छ।
