सितगंगा, अर्घाखाँची । रोटरी क्लब अफ बुटवल चौतारीको आयोजनामा अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिकामा एक दिवसीय मेगा स्वास्थ्य शिविर तथा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। सितगंगा नगरपालिकाका वडा नम्बर ५, ६ र ७ का बासिन्दाहरूलाई लक्षित गरी देउराली आधारभूत स्वास्थ्य केन्द्र, जुकनामा सम्पन्न उक्त कार्यक्रममा सयौं स्थानीयले स्वास्थ्य सेवा प्राप्त गरे।
शिविरमा कुल ४१२ जना सेवा लाभग्राहीले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरे, जसमा २९० महिला, १२२ पुरुष र ५० बालबालिका रहेका थिए। बिहानैदेखि लामबद्ध भई सेवा लिएका स्थानीयको उत्साहपूर्ण सहभागिताले शिविरको प्रभावकारिता झल्काएको थियो।
कार्यक्रमको नेतृत्व रोटरी क्लब बुटवल चौतारीका अध्यक्ष नुमेन्द्र पौडेलले गर्नुभएको थियो। मुख्य अतिथिका रूपमा सितगंगा नगरपालिकाका नगरप्रमुख छविलाल पौडेल, तथा विशिष्ट अतिथिका रूपमा उपप्रमुख गीता भाट सहभागी थिए।
क्लबका ४५ जना रोटेरियनहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा संस्थापक अध्यक्ष डा. विष्णु घिमिरे, पूर्वअध्यक्ष दिनेशमणि सुवेदी, अध्यक्ष मनोनीत राजु अधिकारी, अध्यक्ष प्रस्तावित कपिल पोखरेल, तथा सचिव खगेन्द्र बेलबासे लगायतका पदाधिकारीहरूको सक्रिय उपस्थिति रहेको थियो।
स्वास्थ्य सेवा प्रदान गर्ने टोलीको नेतृत्व डा. सुन्दर न्यौपाने, श्रीकान्त सुवेदी र कृष्ण जीसीले गर्नुभएको थियो। डाक्टरहरूको टोलीमा डा. अब्दुल सबुर खान, डा. आरती श्रेष्ठ, डा. बिनोद पौडेल, डा. कृष्णकुमार यादव, डा. सन्तोष पाण्डे, डा. सन्ध्या अधिकारी र डा. प्रतिभा पन्थीजस्ता विशेषज्ञ चिकित्सकहरूको स्वेच्छिक सेवा उल्लेखनीय रह्यो।
कार्यक्रमको स्थानीय व्यवस्थापनमा वडा अध्यक्ष ऋषि बहादुर रेश्मीको विशेष योगदान थियो। कार्यक्रमको प्रचारप्रसारमा रेडियो सितगंगाका अध्यक्ष नारायण शर्मा र स्थानीय पत्रकारहरूको भूमिका अत्यन्त प्रशंसनीय रह्यो।
कार्यक्रमको समापनमा प्रमुख अतिथि नगरप्रमुख पौडेल, उपप्रमुख भाट लगायतले मन्तव्य राख्दै समर्पण र सेवाभावले मात्रै समाज रूपान्तरण सम्भव हुने कुरामा जोड दिए। एम्बुलेन्स हस्तान्तरणले आपतकालीन सेवामा सहजता ल्याउने विश्वास समेत व्यक्त गरियो।
रोटरी क्लब बुटवल चौतारीको यस सामाजिक उत्तरदायित्वपूर्ण प्रयासले “सेवा, सहयोग र समर्पणले नै समाजमा परिवर्तन सम्भव छ” भन्ने सन्देश दिएको छ।
