चीन–दक्षिण एसिया प्रदर्शनीमा नेपालीहरूको उल्लेख्य सहभागिता

काठमाडौँ । चीनको कुनमिङ्ग सहरमा हिजोदेखि सुरु भएको चीन दक्षिण एसिया प्रदर्शनी र कुनमिङ्ग आयात निर्यात प्रदर्शनीमा नेपालले विशेष उपस्थिति देखाएको छ । प्रदर्शनीमा नेपालका करिब १२० जना व्यवसायी सहभागी रहेको चीनस्थित नेपाली दूतावासले जनाएको छ । असार २४ गतेसम्म चल्ने सो प्रदर्शनीमा नेपालका विभिन्न १७ वटा स्टलहरू रहेका छन् ।

सो स्टलमा हस्तकला, बुद्ध मूर्ति, चिया र कफी जस्ता उत्पादनहरू राखेर प्रदर्शन गरिएको छ । चीनको वाणिज्य मन्त्रालय र युनान प्रान्तीय सरकारको संयुक्त आयोजनामा सुरु भएको कार्यालयको उद्घाटन सत्रमा चीनका लागि नेपाली राजदूत डा.कृष्णप्रसाद ओली पनि सहभागी थिए । राजदूत ओलीले ‘खुला र समावेशी विकासका लागि हातेमालो’ भन्ने प्रदर्शनीको नारालाई स्मरण गर्दै दक्षिण एसिया र चीनबिच आपसी सहयोग र समृद्धिको आवश्यकतामा जोड दिए ।

दक्षिण एसियाको साझा विशेषता प्राकृतिक स्रोत, सांस्कृतिक विविधता, जीवन्त बजार र श्रमिक जनशक्ति सहकार्यको प्रमुख आधार रहेको बताउँदै उनले सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्ष पुगेको सन्दर्भमा दुई देशको आपसी सम्बन्धको ऐतिहासिक पृष्ठभूमिलाई स्मरण गरे । उनले द्विपक्षीय व्यापार, पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा भइरहेको सहकार्यलाई अझ बलियो बनाउनुपर्ने कुरामा जोड दिए ।

उनले चिनियाँ पर्यटकहरूलाई कुनमिङ्गबाट नेपाल भ्रमण गर्न आह्वान गर्दै सन् २०२५ लाई ’नेपाल भ्रमण वर्ष’ का रूपमा मनाइँदै गरिएको सन्दर्भमा नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको अवलोकन गर्न निम्तो दिए । सो प्रदर्शनीमा अफगानिस्तान, बङ्गलादेश, भुटान, म्यानमार, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, युएई, भियतनाम लगायत दक्षिण तथा दक्षिण पूर्वी एसियाली मुलुकका उच्च तहका अधिकारी, व्यवसायी, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *