विराटनगर । मोरङको धनपालथान ५ की एक ७ वर्षीय बालिकाको जबरजस्ती करणीपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कोपिला चुँडालले हत्यामा संलग्न आफन्तै रहेको खुलेको बताइन् ।
प्रहरीले ती बालिकाको काका पर्ने २२ वर्षीय युवक पक्राउ गरेको छ । उनले घटना स्पष्ट ढङ्गले स्वीकार गरेको नभए पनि दिएको बयान र घटनाको प्रकृति हेर्दा उनैले बलात्कार पछि हत्या गरेको हुनसक्ने आधार देखिएको प्रहरीको दाबी छ ।
शनिबार बिहान करिब ४ः ४५ बजे जिल्लाको धनपालथान गाउँपालिका–५ रङपुर वैरियास्थित श्री दुर्गा आधारभूत विद्यालय नजिक ती बालिकाको शव फेला परेको थियो । उनको शरीरमा चोटपटक पनि देखिएको थियो ।
बालिका राति आमाबुबासँगै सुतेकी थिइन् । तर, बिहान करिब ३ बजेतिर अभिभावकले आफूहरूसँग छोरी नभएको थाहा पाएका थिए । त्यसपछि उनीहरूले प्रहरीमा खबर गरेका थिए ।
उनलाई ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) र हाडनाता करणी सम्बन्धी मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । ती युवक विरुद्धमा बालिकाको हजुरबुबाले जाहेरी दिएका छन् ।
